सांकेतिक तस्विर ।

हेटौंडाः सवारी ज्यान मुद्दा र लागूऔषध मुद्दामा दोषी ठहर भई तोकिएको कैद तथा जरिवानाको सजाय भुक्तान नगरी फरार रहेका दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन, हेटौंडा इजलासको २०५८ साल जेठ ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा–१४ का ५९ वर्षीय कुल नरसिंह गोङवा तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । तामाङलाई प्रहरीले हेटौंडा–१५ बाट पक्राउ गरेको जनाएको छ ।

यस्तै जिल्ला अदालत मकवानपुरको २०६८ साल माघ ३० गतेको फैसलाले लागुऔषध गाँजा/चरेस मुद्दामा ४ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मनहरी गाउँपालिका–९ का ५१ वर्षीय दिनेश उप्रेतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उप्रेतीलाई प्रहरीले मंगलबार मनहरी–९, ज्यामिरेबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई अदालतमा उपस्थित गराई कैद तथा जरिवाना सजाय भुक्तानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विभिन्न समयमा अदालतले दोषी ठहर भएर कैद तथा जरिवानाको सजाय भुक्तान नगरेका व्यक्तिलाई मकवानपुर प्रहरीले हरेक दिन जसो पक्राउ गरिरहेको छ ।