विजेतालाई पुरस्कार वितरणपछि सामूहिक तस्वीर खिच्दै ।

हेटौंडाः किशोर/किशोरी तथा युवा पुस्ताका लागि आवश्यक सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता भएको छ । हेटौंडा–१५, रातोमाटेस्थित चुरियामाई युवा सञ्जालको आयोजनामा शनिबार भएको हाजिरीजवाफमा सुस्मिता सुनार, आयुष्मा घलान र रितिका मगरको समूह प्रथम भएका छन् ।

हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति मावि परिसरमा भएको हाजिरीजवाफमा सुवन स्याङ्बो, अनिष थिङ र प्रितम खड्काको समूह द्वितीय, जोन योञ्जन, सनिष स्याङ्वो र सुमित पाख्रिनको समूह तृतीय भएका छन् भने बालकुमारी पाख्रिन, प्रकृति मोक्तान र दीपशिखा पाख्रिनको समूह सान्त्वना भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा परिवर्तनका संवाहक, बालविवाह, लागूपदार्थ दूव्र्यसन जस्ता विषयमा सचेतना अभिवृद्धि गर्ने खालका प्रश्नहरु सोधिएको थियो ।

हेटौंडास्थित ग्रामीण महिला सेवा केन्द्रले अन्तर्राष्ट्रिय दातृ निकाय प्लान इन्टरनेशलनसँगको साझेदारीमा परिवर्तनका संवाह परियोजनाअन्तर्गत युवा सञ्जाल गठन गरेर उनीहरुको व्यक्तित्व एवम् नेतृत्व क्षमता विकासका कार्यक्रम सञ्चालन गरी निर्णय लिन सक्ने क्षमता विकास गरिरहेको छ । चुरियामाई युवा सञ्जालका उपाध्यक्ष प्रशान्त थोकरको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा सदस्य कुमारी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हाजिरीजवाफ प्रतियोगितामा जनजागृति माविका शिक्षक केशवप्रसाद सञ्जाल, ग्रामीण महिला सेवा केन्द्रका अमीर दाहालको पनि उपस्थिति रहेको थियो ।