माघ २९ गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गर्न बसेको प्रतिष्ठानको बैठक । फाइल तस्वीर ।

हेटौंडाः केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान मकवानपुरले यही माघ २९ गतेदेखि गर्ने भनिएको नगरस्तरीय भलिबल फागुनमा हुने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा शनिबार बसेको बैठकले २९ गतेदेखि प्रतियोगिता गर्न तयारी अपुग भएको भन्दै फागुन १९ गतेदेखि २२ गतेसम्म हुप्रचौरको भलिबल कोर्टमा गर्ने निर्णय भएको छ ।

हेटौडा भित्रै भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्र्दै आएको महिला तथा पुरुष नगर भलिबलमा विजेता टीमले ५० र उपविजेताले ३० हजार पुरस्कार प्राप्त गर्ने तथा सेमीफाइनल पुगेका टीमलाई १०/१० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानको महासचिव वसन्त सिटौलाले जानकारी दिनुभएको छ । नगरका प्रत्येक वडाबाट महिला र पुरुष टीमको सहभागितामा हुने प्रतियोगिताका लागि हेटौंडा उपमहानरपालिकाले सहयोग गर्दै आएको छ ।