सांकेतिक तस्विर ।

हेटौंडाः कुटपिट मुद्दामा जिल्ला अदालत मकवानपुरले जरिवाना तोकेको ५० रुपैयाँ तिर्न बाँकी भएका व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरले २०७३ साल बैशाख ३० गते जरिवाना गर्ने फैसला गरे पनि जरिवाना नतिरी बसेका मकवानपुरको मनहरी गाउँपालिका–१ का ३५ वर्षीय रामप्रसाद लटौला र ३२ वर्षीया अञ्जु लटौलालाई मकवानपुर प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुबैजनालाई प्रहरीले जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।

यस्तै लागूऔषध गाँजा, चरेश मुद्दामा पाँच दिन कैद भुक्तान गर्न बाँकी रहेका हेटौंडा–५ का २८ वर्षीय सुरज लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरले २०७५ साल असार ४ गते लामालाई ५ दिन कैद सजाय तोक्ने निर्णय गरेको थियो । लामालाई पनि कैद भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।