हेटौंडाः पतञ्जली योग समिति मकवानपुरले छैठौं राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । हेटौंडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।
अनौपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले पहिलो रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । योग दिवसकै अवसरमा बिहान योगाभ्यास एवम् योगको महत्वका बारेमा प्रवचन कार्यक्रम समेत भएको पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।
योग दिवसको अवसरमा आयोजित कार्यक्रममा पतञ्जली योग समितिको युवा, महिला, नगर तथा ग्राम समितिका पदाधिकारीको पनि सहभागिता रहेको थियो ।