मकवानपुर र आसपासका किसानले उत्पादन गरेको दूध अब सधैं खपत हुने भएको छ । बागमती प्रदेश सरकारकै तर्फबाट पाउडर दूध उत्पादनका लागि उद्योग बन्ने भएपछि किसानको उत्पादन सहजै बिक्रीवितरण हुने भएको हो । सरकारले प्रदेश दुग्ध विकास बोर्डमार्फत् धुलो दूध उत्पादन गर्न लागेको हो । किसानले धेरै उत्पादन गरेको र खपत कम भएको समयमा दूध संकलन गरेर धुलो बनाउने र कम उत्पादन भई खपत बढ्दै गएको अवस्थामा दूध बिक्री गर्ने उद्देश्यले पाउण्डर दूध उत्पादनका लागि कारखाना स्थापना गर्ने भएको छ । प्रदेशको राजधानी हेटौंडा १० मा कारखाना निर्माण सुरु भएको छ । दैनिक ५ टन पाउडर दूध उत्पादन क्षमताको पाउडर दूध उद्योगका लागि २ बिगाहा जमिन छुट्याइएको छ ।

प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले धुलो दूध उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको छ । ४५ करोड रुपैयाँ लागत अनुमान गरेर निर्देशनालयले ठेक्का आह्वानसमेत गरेको छ । ठेक्का प्रक्रियामै रहेको समयमा मुख्यमन्त्रीले उद्योगको शिलान्यास गरेका छन् । चालु आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको देखिन्छ । वर्षको तीन करोड रकमले ४५ करोडको आयोजना निर्माण हुन निकै लामो समय लाग्नेछ । त्यसैले ठूला योजनाहरु बनाउँदा पर्याप्त बजेटको श्रोत सुनिश्चित हुनुपर्दछ । राजनीतिक लाभका लागि शिलान्यास गर्ने, तर बजेट नहुँदा धेरै योजनाहरु लामो समयसम्म अलपत्र परिरहेका छन् । पाउडर दूध उत्पादन उद्योगको पनि हविगत त्यस्तै नहोस् भन्नेतर्फ सम्बन्धित निकायबाट ध्यान पुग्न आवश्यक छ ।

अनुमान गरिएको लागतमा समेत आशंकाहरु श्रृजना भएका छन् । बढी लागत अनुमान गरेर ठेक्का प्रक्रिया सुरु गरिएको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिमा उजुरी नै परेको छ । त्यस विषयमा लेखा समितिले अध्ययन समिति गठन गरी काम गर्दै गरेको अवस्थामा मुख्यमन्त्रीबाट उद्योग शिलान्यास गरिएको छ । आयोजनाको लागतमा प्रश्न उठेको छ भने ठेक्का प्रक्रिया पूरा नभएको अवस्थामा शिलान्यास गरिनु राजनीतिक उद्देश्य देखिन्छ । मुख्यमन्त्रीमाथि आफ्नै दलका सांसदबाट अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा शिलान्यास गरिनु राजनीतिकरुपमा स्वभाविक हो वा होइन भन्ने प्रश्न उठ्ने देखिन्छ । राजनीतिक जस–अपजस जो सुकैले लिए पनि किसानका लागि भने कारखाना बन्नु आवश्यक छ ।

राजनीतिक विषय जे सुकै भए पनि पाउडर दूध उत्पादन गर्ने उद्योगले पूर्णता पाउनु जरुरी छ । राजनीतिक जोडघटाउको हिसाब जसको पक्ष वा विपक्षमा भए पनि यस क्षेत्रका दुग्ध उत्पादक किसानहरुले अब दूध होलीडेको सामना गर्नु वा सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । उत्पादित दूध सडकमा पोख्दै आएका किसानले पाउडर दूध उत्पादन गर्ने उद्योगको स्थापनापछि दूध उत्पादनलाई थप व्यावसायिकीकरण गर्नेछन् । जहिलेसुकै पनि उद्योगले दूध खरिद गरिदिने भएपछि दुग्धजन्य पशुपालनतर्फ युवाहरु आकर्षित हुनेछन् । जसले रोजगारी श्रृजना हुँदा युवाशक्ति विदेशिनुपर्ने अवस्था हुनेछैन । त्यसैले राजनीतिक खपतका लागि शिलान्यास गर्नेभन्दा पनि उद्घाटन नै गर्ने गरी निर्माणले पूर्णता पाउनुपर्दछ ।