हेटौंडाः नारी सीप सृजना केन्द्र नेपालले राक्सिराङ गाउँपालिकामा सोमबार स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । केन्द्रले सञ्चालन गरिरहेको मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना कार्यक्रमअन्तर्गत अन्तरक्रिया कार्यक्रम गरेको हो । केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समावेशी आयोग अध्यक्ष विष्णु ओझाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायको अतिथ्यता थियो ।

कार्यक्रममा प्रमुख अतिथि ओझाले देश अहिले समावेशीकरण प्रणालीमा हिँडिरहेको भन्दै वर्षौंदेखि राज्यबाट पाउने सेवा सुविधाबाट टाढा रहेका जनजाति, लोपोन्मुखलगायतलाई माथि उकास्ने कामहरु गरिरहेको बताउनुभयो । देशकै सबैभन्दा बढी मानव बेचविखन हुने जिल्लामा पर्ने मकवानपुरमा सामाजिक संस्थाहरुको सक्रियता र चेतनामा भएको परिर्वतनले अहिले बेचिविखनका घटनामा कमी भएको बताउनुभयो । ओझाले जहाँ शिक्षा, स्वास्थ्य, बेरोजगारी, गरिबी रहेको हुन्छ, त्यहाँ नै सबैभन्दा वढी सामाजिक समस्या रहने भन्दै अन्य क्षेत्रको तुलनामा पछि परेको राक्सिराङ गाउँपालिकामा देखिएका मानव बेचविखन, बालविवाहलगायतका समस्या सबै मिलेर समाधानमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले विभिन्न संस्थाहरुसँग समवन्य गर्दै काम गरिरहेको बताउनुभयो । उहाँले विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालनका साथै चेपाङ विद्याथीलाई लक्षित गरेर छात्रवृत्तिको व्यवस्था गरेको र चेपाङ समुदायको सामाजिक, सांस्कृतिक परम्परा झल्कने संग्रहालय सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमको सभाध्यक्ष तथा केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाले केन्द्रले मकवानपुर जिल्लाका गरिब, सिमान्तकृत, कमजोर अवस्थाका महिला, पुरुष, युवा, विद्यार्थी, असुरक्षित बसाइँसराईं तथा मानव बेचविखनको शिकार भएका, बेचविखनबाट जोगिएका समुदायका सदस्यहरु नै परियोजनाको लक्षित समूह रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा केन्द्रकी कार्यक्रम संयोजक ज्योति वोम्जनले एलडब्लुओ इन्टरनेशनलसँगको साझेदारीमा एक वर्ष अघिदेखि राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ मा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना सञ्चालन भइरहेको बताउनुभयो । परियोजनाअन्तरगत् सीडीसी एमएस गठन तथा सबलीकरण, घरदैलो, सरोकारवालासँग बैठक, मानव बेचविखनविरुद्ध र सुरक्षित बसाइँसरासम्बन्धी अभिमुखीकरण, अध्ययन सामग्री प्रकाशन, स्थानीय सरकार र सम्बन्धित सरोकारवालासँग छलफल तथा समन्वयात्मक बैठक सञ्चालन गरिएको छ ।

यस्तै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने, मनोसामाजिक विमर्शसम्बन्धी प्रशिक्षण, रेडियो कार्यक्रम, मानव अधिकार संरक्षण तथा मानव बेचविखनविरुद्धको जिल्ला सञ्जालसँग छलफल, सञ्चारकर्मीसँग अन्तरक्रिया, तथा मनोसामाजिक परामर्श पनि परियोजनाअन्तर्गत् सम्पन्न गरिएको परियोजना संयोजक वोम्जनले जानकारी दिनुभयो । मानव बेचिवखन तथा बसाइँसराईंको जोखिममा रहेका विपन्न वर्गको आयआर्जनलाई सहयोग पुग्ने उद्देश्यले परियोजनाअन्तर्गत् तरकारी बाली, कुखुरा÷बाख्रा पालन, मौरी पालन, उद्यमशिलता विकास तालिम प्रदान गर्नुका साथै सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत् वक्तृत्वकला प्रतियोगिता, शिक्षक तथा विद्यार्थीलाई अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिने परियोजना संयोजक वम्जनले बताउनुभयो । कार्यक्रममा राक्सिराङ गाउँपालिकामा रहेको विभिन्न समूहलाई मौरीको घार तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ । सोमबार नै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष विष्णु ओझाको टोलीले परियोजनाअन्तर्गत भएका कार्यहरुको स्थलगत अनुगमनसमेत गरिएको छ । परियोजनाअन्तर्गत् तालिम लिएर आयआर्जनमा संलग्नहरुले सुरु गरेको व्यावसायिक तरकारी खेतीको अनुमगन गरिएको हो ।