हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा नारी सीप सृजना केन्द्रले सञ्चालन गरिरहेको मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवर्धन परियोजनाको अनुमगन गरिएको छ । एडब्लुओ इन्टरनेशनलको सहयोगमा केन्द्रले बागमती गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म परियोजना सञ्चालन गरिरहेको छ ।
परियोजनाअन्तर्गत् बागमती गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएका क्रियाकलापको अनुगमनसँगै सरोकारवालाबीच छलफल गरिएको थियो । नारी सीप सृजना केन्द्रकी संस्थापक अध्यक्ष विष्णु ओझाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटा, केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेल, सहसचिव दुर्गा नेपाल, सहारा सामुदायिक छलफल केन्द्रकी रविना राई, धनमाया स्याङ्तानलगायतको उपस्थिति थियो ।
परियोजनाको दोस्रो चरणअन्तर्गत् बागमती गाउँपालिकामा व्यावसायिक तरकारी खेतीका लागि तालिम तथा टनेल निर्माणमा सहयोग गरेको छ । महिलाहरुलाई आयआर्जनका लागि कुखुरा तथा बाख्रा पालनसम्बन्धी तालिम एवम् कुखुराको चल्ला वितरण गरिएको केन्द्रका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । बसाइँसराईं र बेचविखनको सम्भावित जोखिममा रहेका व्यक्तिहरुलाई सचेतना, पैरवी तथा दिगो जीविकोपार्जनका लागि परियोजना लक्षित रहेको र परियोजनाअन्तर्गत् सञ्चालन गरिएका कार्यक्रमबाट असुरक्षित बसाइँसराईंको जोखिम कम गर्न तथा मानव बेचविखन हुनबाट जोगाउन सहयोग पुगेको केन्द्रमा कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।
केन्द्रले एडब्लुओ ईन्टरनेशनलसँगको साझेदारीमा यसअघि मकवानपुरका हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजना सञ्चालन गरेको थियो । हेटौंडाको वडा नम्बर १४, १५, १६, १७ र १९ तथा मनहरीको वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणको परियोजना सञ्चालन गरिएको थियो ।