लिंगका आधारमा मान्छेमाथि हुँदै आएका हिंसाविरुद्ध अन्तर्राष्ट्रिय अभियान सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन हुने गर्दछ । नेपालमा २०५४ सालदेखि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन हुँदै आएको छ । मानिसलाई उसको लैंगिक आधारमा गरिने दुव्र्यवहार, शोषण, अत्याचारविरुद्धको यो अभियानले विश्वका अन्य देशहरुमा प्रभाव पारेको भए पनि नेपालमा उल्लेख्य उपलब्धी हाँसिल हुन सकेको छैन । अल्पशिक्षित देशहरुमा लैंगिक हिंसाको परिभाषा नै फरक पर्ने गरेको पाइन्छ । हिंसा भन्नासाथ महिलामाथि मात्र हुन्छ भन्ने चिन्तन छ । तर पुरुष वा अन्य लिंगमाथि पनि व्यक्ति र समाजबाट हिंसा भइरहेको हुन्छ ।

नेपालमा लैंगिक हिंसाविरुद्धको अभियान महिलामाथि हुने हिंसाको अर्थमा लिइने गरिएको छ । कार्यक्रमहरु पनि त्यही ढाँचामा तयार पारिएका हुन्छन् । आम नेपालीले पनि लैंगिक हिंसा र महिला हिंसालाई एउटै अर्थमा बुझ्ने गर्दछन् । मानव अधिकार र महिला अधिकारवादीहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि उपलब्धीमूलक देखिएको छैन । तर सचेतनाका लागि अभियान प्रत्येक बर्ष मनाउने गरिन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट यो अभियानमा निकै खर्च हुने गर्दछ । खर्चअनुसारको अभियानले प्रभाव पारेको देखिएको छैन । सरकारले सबै स्थानीय तहदेखि प्रदेश सरकारलाई पनि यो अभियानमा सहभागी हुन भनेको छ । जसले गर्दा यो १६ दिने अभियान कुनै संस्थाको मात्र जिम्मेवारी नभई राज्य र नागरिकको आफ्नै कार्यक्रम हो ।

समाज रुपान्तरणका लागि महत्वपूर्ण यस्ता अभियानहरु आम मानिसको जीवनशैली बनाउन आवश्यक छ । व्यवहारमा लागू गरिनु पर्दछ । तर कार्यक्रममा आदर्शका भाषण गर्नेहरुको घरायसी व्यवहार फरक हुने गरेका प्रशस्त उदाहरण समाजमा छन् । यस्ता अभियानले आम मानिसमा अन्याय सहनु हुँदैन भन्ने चेतनाको विकास गराउने भूमिका खेल्न सक्नु पर्दछ । कुनै तारे होटलहरुमा नभई दैनिकीका लागि आफ्नै परिवेशमा रहेका नागरिकबीच अभियान पुग्न आवश्यक छ । जाने सुनेका र बुझेकाहरु भेला भएर अभियानका बारेमा बखान गर्दैमा हिंसा अन्त्य हुन सक्दैन । त्यसैले अभियान १६ दिन हैन कि व्यवहारमा दैनिक लागू हुनु आवश्यक छ । तबमात्र हिंसा अन्त्य हुन सक्छ ।

नेपालजस्तो विकासोन्मुख देशहरुमा महिलामाथि नै बढी हिंसाका घटना हुँदै आएका छन् । बलात्कार, दुव्र्यवहार, हत्याजस्ता घटना नेपालको दैनिकी बन्दै आएको छ । हालैमात्र साना नानीहरुको बलात्कारपछि हत्या भएका घटना सार्वजनिक भइरहेका छन् । लामो समयसम्म पनि अपराधीले सजाय नपाएको, पीडित परिवार त्रासमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता अभियानहरु सार्थक हुन सक्नु पर्दछ । वर्षमा केही दिन मात्र नभई सचेतनाका कार्यक्रमहरु गाउँ र दुर्गम बस्तीहरुमा पुर्‍याए मात्र अभियानको सार्थकता हुने छ । नत्र टाठाबाठाले अभियान सञ्चालन गर्ने र दूरदराजका मानिसहरु पीडित भइरहने अवस्था यथावत हुनेछ । यसबर्ष ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा छ । नाराको भाव र उद्देश्यअनुसार अभियानमा सबै नागरिकलाई सहभागी गराउन सके मात्र सार्थकता हुनेछ ।