सुन्दरी (पोथी बादरनीको वर्णन गर्न खोजेको होइन) कहलिएकाहरूले हाम्रो किन कुरा कोट्याएको भन्नुहोला । त्यस्तो होइन । यसलाई बौद्धिक सुन्दरताको कसीमा ढालेर मज्जाले पढ्न सक्नु हुन्छ । सुन्दरी हुन सुशील, असल, स्वच्छ, ज्ञान, विवेक, कोमल हृदय आदि जस्ता गुण हुनुपर्छ । तर सुन्दरी घोषित हुन यस्तो वर्ण, यति तौल, यति उचाई आदि हुनुपर्ने भनी तोकिन्छ ।
यो त विभिन्न व्यावसायिक कम्पनीका मालिक भनाउँदा सिल्लिहरूले आफ्नो व्यावसायिक चतुर्याइँका लागि महिला अस्मिता र उनीहरूको भौतिक सुन्दरता माथि खिल्ली उडाउएको जस्तो लाग्दछ ।रोल्पाकी रुपज्योति, दिपायलकी दीपज्योति, पाँचथरकी पदमज्योति र चरिकोटकी चन्द्रज्योति अनुहार हेर्दै रगत चुहेला जस्तो राता गाला, अनार दाने दाँत, उच्च ललाट भएका छन् । तर उनीहरू अर्धनग्न हुन जान्दैनन् ।
कलैयाकी काली निर्मला नर्स हुन् । उनी टोल–टोलमा गएर निशुल्क सेवा दिन्छिन् । उनको एउटा आँखा अलि टेँडो छ तथापि समाजका कुरूप पक्षलाई हृदयको चक्षुले चियाउँछिन् र चिन्तित हुन्छिन् । हेटौंडाकी साढे चार फिट्की हिरादेवी महिला अधिकारकर्मी हुन् । उनको खुट्टा अलिकति कमजोर भएकोले खोच्याउँछिन् । क्याट्वाक गर्न खुट्टाले दिँदैन । यिनको कर्मको सुन्दरतामा कसले कसी लगाई दिने ?
कोरोनाको महामारिमा गरिब दुखीलाई सडकमा लाम लगाएर निशुल्क खाना ख्वाइरहेकी थेप्चो अनुहारकी नेप्टी… (राष्ट्रपतिबाट सम्मान नपाएकी) लाई देख्नु भएकोे होला । जसलाई कसैले आमा, कसैले दिदी भनी सम्बोधन गरिरहेका हुन्छन् । यिनको सहयोगीको रुपमा मात्र देखापरे पनि हुन्थ्यो हाम्रा सुन्दरीहरु-नायिकाहरु । अर्काेतर्फ जाङ देखाएर नाच्ने (मञ्चमा उफ्रिने), गाउने (घाँटी बजाउने) जाङे सुन्दरीका लाखौं समर्थक देखिन्छन् । यस्ता समर्थकलाई हल्का हाँसो वा मनोरञ्जन पासो मात्र ठान्न सकिन्छ । कतिजना सुन्दरीको पगरी पाएपछि नायिकाको नगरीमा हामफालेका छन् । त्यस्ताहरु समाजसेवामा कति समर्पित भए भन्ने मुल्याङ्कन पनि भैरहेको हुन्छ ।
यो लेखको आसय सुन्दरीहरूको अनादर र उपेक्षा गर्न खोजेको होइन । तपाईंको दराजमा सजायको ताजले समेत लाज मान्ला ख्याल गर्नाेस् भन्न खोजेको मात्र हो । सुन्दरता भनेको व्यावहारिक जीवनमा झल्किनु पर्छ । समाजको नजरमा टल्किनु पर्छ । झमक कुमारी, योगमाया, पारिजात…। यिनीहरूको कर्मको सुन्दरताको किरण प्रत्येक नेपालीले महसुस गरेका छन् । उनीहरू सुन्दरी हुन वा ताजले सजिएका मात्र सुन्दरी ?
प्रकृतिले नै सुन्दरता भरिदिएको सुन्दरीहरु अनुहारमा केही लेप्दैनन् र फुर्सद पनि हुँदैन । तोरीको तेल कपालमा दलेर चुल्ठो बाट्दै हिँड्छन् । पहाडको गाउँमा पुगेथेँ । मकै गोडिरहेकी युवतीलाई, “पानी खान पाइन्छ ?” भनी सोधेँ । टाउको उठाएर, “पाइन्छ” भनिन् । उनको बान्की परेको अनुहारको निधारबाट गालामा झरेका पसिनाको थोपा साँच्चिकै मोतीका दानाझैं देखिन्थे । यी थिइन् पसिनाको गन्ध आउने अर्गानिक सुन्दरी ।
उही कस्तुरी मृगले आफ्नो नाभिको सुगन्ध चाल नपाझैं हुन् यी ।अन्य क्षेत्रलाई हापेर नितम्भदेखि विभिन्न अङ्गलाई इन्च, फिटले नापेर, तराजुमा शरीर तौलेर सुन्दरी छनौट गरिन्छ भने यसले वास्तविक सुन्दरीलाई पाखा लगाएको ठहर्छ । हामीले नीति श्लोक पढेकै हौं, “रुप र यौवनले सम्पन्न भएको, ठूलो कुल घरानामा जन्मेको भए तापनि यदि ज्ञान, विवेक, शिक्षाबिहिन छन् भने त्यो सुगन्धरहित सुन्दर पलासको फुलझैं हो” भनेर । पलासको फुल हेर्दा सुन्दर देखिन्छ तर फुलमा हुनपर्ने मुल गुण नै नभएपछि कसरी फुल भन्ने ?