सत्तारुढ दल नेकपाभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई यही अवस्थामा सँगै मिलेर अघि बढ्न नसक्ने भन्दै विकल्पबारे सोच्न भनेपछि नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ । देश कोरोना भाइरस सङ्क्रमणको महामारीको चपेटामा छ । महामारीका कारण उत्पन्न भएको गरिबी, बेरोजगारी, अनियमितताका श्रृङ्खलाहरु बढ्दै जाँदा ऐतिहासिक जनमत पाएको दल विभाजनको स्थितिमा पुग्नु देशकै लागि दुर्भाग्य हो । लोकतान्त्रिक शासन प्रणालीमा दलहरु बलियो हुन आवश्यक छ । देशको समृद्धिका लागि दलहरु विभाजित हुने भन्दा सङ्गठित हुन आवश्यक छ ।
जनतालाई सेवाप्रवाहका लागि बहस र छलफल गर्ने तथा योजना बनाउनु पर्ने समयमा सत्तामा टिक्ने र पुग्ने खेलमा सत्तारुढ दलका नेताहरु रमाउनु भनेको कुनै पनि पक्षबाट शुभसंकेत होइन । यतिबेला नेकपाभित्रको विवादले नेपाली राजनीतिक वृत्तमा व्यापक चासो बढेको छ । नेकपा र सरकार जनताप्रति गैरजिम्मेवार भएको भन्दै आलोचना पनि भइरहेका छन् । सत्तारुढ दल जनताका आवश्यकता, माग र चासोलाई बेवास्ता मात्र गरिरहेको छैन कि आफू राज्यको कुनै जिम्मेवारीमा नै नभएको अभिनय गरिरहेको छ । दीनहिन जनताको पक्षधरताको वकालत गर्दै जनमत प्राप्त गरेका नेताहरुले कुर्सीका लागि मात्र मरिहत्ते गर्नु जनमतको ठाडो अपमान हो । यसको परिणाम जनताले आगामी निर्वाचनमा देखाउने नै छन् ।
अध्यक्षकै तहमा विभाजनका लागि तयार रहन भन्दै उठेको विषयले त्यसका लागि दुबै पक्षबाट विभिन्न तयारी भइरहेको अनुमान गर्न कठिनाई छैन । तर दुबै पक्ष विभाजनको दोषबाट मुक्त हुन पानी माथिको ओभानो बन्ने प्रयासमा देखिन्छन् । निर्वाचनका समयमा भएको एकता नाटक मात्रथियो भन्ने कुरा हालको परिस्थितिले प्रष्ट्याएको छ । यदि सैद्धान्तिक रुपमा एकता थियो भने भागबण्डाका नाममा विवाद हुने थिएन । अलग दलमै बसेर कार्यगत एकतामा निर्वाचनमा जाने र पद बाँडफाँडको सहमति गरेको भए बरु उचित हुने रहेछ । एकताका प्रक्रिया नै पूरा नभई देखिएको विवादले जनमतका लागि एकता नाटक मात्र थियो भन्ने कुरालाई प्रमाणित गरिरहेको छ ।
नेकपा फुटको सङ्घारमा पुगेर पटक–पटक फर्किएको हो । यस पटक पनि नेतृत्वलाई एकताका लागि केन्द्रदेखि स्थानीय तहका नेता, कार्यकर्ताबाट दवाव आवश्यक छ । तर कार्यकर्ताहरु पनि एकताको नारा दिने तर व्यवहार र प्रतिक्रिया पक्ष–विपक्षमा नै दिने गर्दै आएका छन् । आफ्नो पक्षमात्र ठीक र अर्को पक्षले एकता भाँडेको भन्नेहरु कुनै पनि अवस्थामा एकताका पक्षधर हुन सक्दैनन् । वास्तविकताको वकालत गर्ने, कमजोरी जोबाट भएका छन् त्यसको समिक्षा गर्न दवाव दिन सक्नु पर्दछ । दल भित्र देखिएका सबै प्रकारका विवाद पार्टी कमिटीहरु मार्फत नै खोजी हुन आवश्यक छ । पार्टीका आधिकारिक निकायबाट गरिने निर्णयहरु नमान्ने छुट जोकोहीलाई पनि हुन्छ । तर दल भित्रै रहने हो भने बहुमतको निर्णय स्विकार गर्नु र गराउनु नै लोकतान्त्रिक मूल्य, मान्यता हो । यसका लागि कार्यकर्ता तहबाट पनि आवश्यक दवाव श्रृजना गर्नु नेकपाका लागि हालको आवश्यकता हो ।