हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले बालविवाह रोकेको छ । आज गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा नेतृत्वमा १ नम्बर वडा अध्यक्ष आइतसिं लो, गाउँपालिकाको महिला बालबालिका शाखाकी प्रमुख मन्दिरा थापा, कानुनी सहजकर्ता रामशरण शर्मासहितको टोलीले १ नम्बर वडा गुर्दुमडाँडामा बालविवाह रोकेको हो ।

मकवानपुरगढी गाउँपालिका–१ का १८ वर्षीय किशोर र मकवानपुरकै बकैया गाउँपालिका–४ की १७ वर्षीया किशोरीबीच भएको बालविवाह रोकिएको हो । बकैया गाउँपालिकामा रहेको आफन्तकोमा पुगेका किशोरले १७ वर्षीया किशोरीसँग बालविवाह गरेको भन्ने खबर प्राप्त भएपछि बालविवाह रोक्न गाउँपालिकाले पहल गरेको कानुनी सहजकर्ता रामशरण शर्माले बताउनुभएको छ । परिवार र साथीभाईले सम्झाउँदा पनि विवाह रोक्न नमानेपछि परिवारकै सदस्यले गाउँपालिकालाई बालविवाह रोकिदिन आग्रह गरेका थिए । बालविवाह गरेका किशोर सम्पर्कमा नआएको र किशोरीलाई भने हेटौंडास्थित बालहेल्पलाइनमा मनोसामाजिक परामर्शका लागि पठाइएको छ ।