कोरोना भाइरस सङ्क्रमणको हिसाबले बागमती प्रदेशको राजधानी हेटौंडा पछिल्लो समय हट स्पट बनिरहेको छ । परीक्षणका लागि सङ्कलन गरिएका दुई मध्ये एक नमूनामा सङ्क्रमण पुष्टि भइरहेको छ । पछिल्लो समय दैनिक एक सय भन्दा बढी सङ्ख्यामा सङ्क्रमित पहिचान भइरहेका छन् । कोरोना सङ्क्रमणमा भइरहेको वृद्धिका हिसाबले हेर्ने हो भने यतिबेला जिल्लामा लकडाउन घोषणा गर्नुपर्ने बेला भइसक्यो । अधिकांश सरकारी कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगिसकेको छ भने निजी क्षेत्रका कार्यालयहरुमा कार्यरत कर्मचारीमा सङ्क्रमण पुष्टि भए पनि कार्यालय सुचारु नै छ । कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण, सङ्क्रमण पुष्टि भएकाहरुको उचित हेरचाह र स्वास्थ्यमा समस्या भएकाहरुको उचित उपचारको सन्दर्भमा मुख्यतः सरकारी निकाय नै कतै जिम्मेवार देखिन्न । सङ्क्रमितहरु राज्यका निकायबाट सोधपुछ समेत हुन नसकेकोप्रति आश्चर्य चकित छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अधिकांशले स्वास्थ्य लाभ गरेका छन् । मृत्यु दर नबढ्नु र केही दीर्घरोगीहरुको मृत्यु हुनुबाहेक तत्कालका लागि त्रासको अवस्था स्थीर छ । तर, राज्यका निकायबाट भइरहेको बेवास्ताका कारण सङ्क्रमितहरु तनावकै बीच कोरोनासँग लडिरहेका छन् । कोरोना विरुद्ध प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रहने व्यवस्था छ । तर, मकवानपुर प्रमुख जिल्लाबिहिन भएको एक साता हुन लागिसकेको छ । बागमती प्रदेशको राजधानी भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीबिहिनको स्थिति हुनुले पनि गैरजिम्मेवारीको तहलाई मूल्याङ्न गर्न सकिन्छ ।

कोरोना भाइरस सङ्क्रमणको सुरुवातदेखि नै यसलाई जोखिमको रुपमा लिने एक समूह छ भने कोरोना भाइरस केही पनि होइन भन्ने अर्को समूह छ । संसारभर ११ लाख भन्दा बढीको ज्यान गइसक्दा, संसारको संरचनामा खैलाबैला गरिसक्दा पनि यो दुई समूह आआफ्नै पक्षमा छ । नेपालमा पनि यो दुई समूहको वकालत जारी छ । नेपालको सन्दर्भमा नेपाल सरकार आफैंले सघन रुपमा कोरोना भाइरस सङ्क्रमणको विषयलाई केलाउने प्रयास भएको छैन । सघन अनुसन्धानमा खटिनुपर्ने चिकित्सकहरु नै दुई समूहमा विभाजित जस्तो देखिएको छ ।

यस्तो पृष्ठभूमिमा मकवानपुर जिल्लामा विशेषतः जिल्लाको अवस्थाका आधारमा जोखिमको तह विश्लेषण गर्ने र सुरक्षाका लागि ध्यान दिनुपर्ने पक्षमा कुनै काम हुन सकेको छ । जिल्लाभरको कोरोना सङ्क्रमणको अवस्थाका बारेमा हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले दिएको जानकारीमै निर्भर हुनुपर्ने अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालयले पनि कोरोना विरुद्ध आफ्नो सक्रियताको आवश्यकतालाई बुझ्न सकेन । वर्षकै प्रमुख चाड सुरु भइसक्दा बजारक्षेत्र भीडभाड छ । सङ्क्रमण नै नहोस् भन्नाका लागि नागरिकको तहमा सतर्कता छैन भने राज्यको तर्फबाट पनि हुनुपर्ने सतर्कता देखिँदैन । संसारभर सङ्क्रामक बनेको रोगप्रति नेपाली समाजमा देखिएको बेवास्ताले् अन्ततः आम नागरिक गम्भीर क्षतिको भागिदार हुनुपर्ने त्रास भने कायमै छ ।