हेटौंडाः एकजना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै मालपोत कार्यालय मकवानपुरले चारदिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्राप्त रिपोर्टअनुसार एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कार्यालयको सेवाप्रवाह चार दिन रोक्ने निर्णय गरिएको मालपोत कार्यालय मकवानपुरका प्रमुख बासुदेव खतिवडाले जानकारी दिनुभएको छ ।

परीक्षण गरिएको एकजना कर्मचारीलाई नै सङ्क्रमण पुष्टि भएको र ती कर्मचारीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परिक्षण गरिने कार्यालय प्रमुख खतिवडाले बताउनुभएको छ । एक साताअघि मात्रै सतर्कता बिना नै भीडभाडका साथ मालपोत कार्यालयमा सेवा प्रवाह गरिरहेको भनेर निक्कै आलोचना हुँदा पनि सतर्कता अपनाइएको थिएन ।