हेटौंडाः लागूऔषध नाइट्रोभेट ८७० ट्याब्लेटसहित मकवानपुर प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । मंगलबार बिहान ८ बजेर ५० मिनेटको समयमा त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित प्रहरी चौकी भैंसे मकवानपुर बाट प्रहरी नायव निरीक्षक कुल बहादुर श्रेष्ठको कमाण्डमा खटिएको सुरक्षाजाँच टोलीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९६ प ३२८५ नम्बरको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा मोटरसाइकल चालक प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ घर भई हाल काठमाडौं जिल्लाको बालाजु शान्तिटोल बस्ने १८ वर्षीय सतिश दमाल मगर र मोटरसाइकलमा पछाडी सवार कालीकोट जिल्लाको घोचायबाडा गाउँपालिका–३ घर भई हाल काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका–३ बस्ने १८ वर्षीय बज्र रोकायालाई प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । लागूऔषधसहित पक्राउ परेका दुई युवक, मोटरसाइकल र बरामद लागूऔषधसहित प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।