स्वीकृति न्यौपाने

म पत्रकारिताको विद्यार्थी हुँ । पढ्ने धेरै विषयहरुमध्ये मैले पत्रकारिता विषयलाई छानेँ । यसै क्रममा २०७५ साल श्रावण महिनामा मैले हेटौंडा–२ स्थित मकवानपुर बहुमूखी क्याम्पसमा भर्ना गरेँ । पहिलेबाट नै म पत्रकारिता गर्न रुचाउने भएकाले मैले यस विषय पढ्नका लागि घर–परिवारबाट यो विषय पढ्ने सजिलै मौका पाएँ । पहिले–पहिले पत्रकार कहिले बन्न पाउँछ होला भन्ने लाग्थ्यो । जब म पत्रकार बन्छु भन्ने लक्ष्यले क्याम्पसको परिसरमा प्रवेश गरेँ तब मेरो मनमा लाग्यो कि पत्रकारिता पढेर मैले यो क्याम्पसबाट राम्रो पत्रकार बनेर निस्कनुपर्छ । पत्रकार बन्नु नै मेरो लक्ष्य थियो । मेरो भविष्यमा पत्रकार बन्ने ठूलो लक्ष्य भएको कारण मैले पाँच विषयमध्ये पत्रकारिता विषयलाई नै मुख्य विषय बनाएर त्यसलाई नै बढी निरन्तरता दिन थालेँ ।

कक्षा ११ मा पढ्दै जाँदा पत्रकारिता भनेको के हो ? कसरी पत्रकारितालाई अगाडि बढाउन सकिन्छ ? भन्ने विषयहरु विस्तारै बुझ्दै जाँदा पहिले लाग्थ्यो पत्रकारिताको क्षेत्र सानो होला भन्ने । जब पत्रकारिताको अध्ययन गर्दै गएँ त्यति नै पत्रकारिताको क्षेत्र वृहत रहेछ भन्ने बुझेँ ।

पठनपाठनको क्रममा नै पत्रकारिता पढाउने सरबाट पत्रकारिताको अभ्यासका लागि दैनिक पत्रिकामा काम सिक्ने मौका पनि पाएँ । क्याम्पसको नियमित कक्षामा भन्दा पत्रकारिताको अभ्यासको क्रममा पत्रकारिताबारे धेरै कुराहरु राम्रोसँग बुझेँ । विभिन्न कुराहरु सिक्ने र बुझ्ने मौका पाएँ । जति काम गर्दै गयो त्यति नै त्यस क्षेत्रका मान्छेहरुलाई अलि नजिकबाट चिन्ने अवसर पनि पाएँ । कहिल्यै नगरेको काम पहिलो पटक गर्दा कता–कता डर, निराशा सँगसँगै काम गर्ने जाँगर पनि बढेको थियो । सुरु–सुरुमा कता–कता डराएको पनि थिएँ । तर यसो सोँचे मैले यहि क्षेत्रमा केही गर्नुपर्छ र यसरी डराएर हुन्छ भनी ठूलो साहस बोकी हिँड्न थाले ।

पत्रकारितालाई नै निरन्तरता दिनुपर्छ भन्ने सोँच राखेर मैले भोकले खाली भएको पेट, चर्को घाम नभनी काम निरन्तर गरिरहेँ । विस्तारै–विस्तारै पत्रकारिता क्षेत्रको मान्छेहरुसँग घुलमिल हुन थालेँ । पत्रकारिता क्षेत्रका मान्छेहरु एउटै परिवार हुन् भन्ने लाग्थ्यो । म २/३ जनाको माझमा बोल्न डराउने अनि लेख्दा हात काँप्ने मान्छे अहिले यहि पत्रकारिताले हजारौंको भीडमा जाँदा पनि नडराउने भएकी छु । यहि पत्रकारितालाई मेरो भविष्यको रुपमा लिएर हिँडेकी छु । विस्तारै यस क्षेत्रको मान्छेहरुबाट मैले सिक्ने, बुझ्ने अवसर र माया पनि पाएको थिएँ । पत्रकारिताको अध्ययनले मैले मात्रै नभई साथीहरुलाई सिकाउने मौका पनि पाएकी छु ।

कोभिड–१९ कोरोना भाइरसको कारण आज म घरमा बस्नु परेको छ । मन छ पत्रकारिता क्षेत्रको काममा निरन्तर गरिरहने तर काम गर्न नपाए पनि घरमा नै विभिन्न पुस्तकहरु पढेर समयको सदुपयोग गर्दैछु । लाग्छ मलाई पत्रकारिता नै मेरो भविष्य हो । पत्रकारितालाई नै मैले निरन्तरता दिई असल पत्रकार भएर निस्कने र भावी पुस्ताहरुलाई पनि पत्रकारिता क्षेत्रको बारेमा बुझाउने, सिकाउने र पत्रकारितामा नै बढी जोड दिने मेरो उद्देश्य पनि रहेको छ । त्यसैले पत्रकारिता नै मेरो निरन्तरता हो र यसमा नै मैले आफ्नो भविष्य देखेकी छु ।