सन्दर्भलाई यो वर्षको एसईईसँग जोडिएको छ । सँगै यहिबेला विद्यालय तहका अरु कक्षाका विद्यार्थीहरुको पनि वार्षिक परीक्षा अर्थात निर्णयात्मक परीक्षा संचालन भइरहेको छ । त्यसैगरी लगत्तै कक्षा ११ र १२ को अन्तमा हुने एसएलसी पनि टाढा छैन । विश्वविद्यालय स्तरका र अन्य प्रतिस्पर्धात्मक परीक्षाका परिक्षार्थीहरुका लागि समेत यो आलेख उपयोगी हुने अपेक्षा गरिएको छ । परीक्षा दिने विद्यार्थीहरुलाई नै परीक्षार्थी भनिन्छ । विद्यार्थीहरुका अतिरिक्त रोजगारका लागि सरकारी तथा गैरसरकारी अंगबाट विभिन्न विषय र क्षेत्र सम्बन्धित प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनेहरु पनि परीक्षार्थी हुन् । परीक्षा भन्ने शब्दबाट नै परीक्षार्थीहरुमा त्रास, डर र हाउगुजीले बास गरिहाल्छ । परीक्षालाई सहज बनाउने र परीक्षार्थीलाई सफल बनाउने क्रममा परीक्षा बोर्ड, शिक्षा प्रशासन, शिक्षक, शिक्षण संस्था, अभिभावक, संचारकर्मी र सरोकार वर्गका आआफ्ना जिम्मेवारी बमोजिमका भूमिका हुन्छन् । यहाँ यी सबैको विस्तृत विवरण अटाउन खोजिएको होईन । परीक्षार्थीले परीक्षा दिने हो । परीक्षाको नतिजा पास फेल पनि उनीहरुका लागि हो । त्यसैले, परीक्षार्थी स्वयम्ले परीक्षामा सफलताका लागि ध्यान दिनैपर्ने कुराहरुलाई यहाँ उल्लेख गरिएको छ ।
क. परीक्षा पूर्वको तयारी :
१. अध्ययन निरन्तर प्रक्रिया हो । परीक्षाको केहि दिन अघिमात्र किताब पल्टाउने र अब जाँच दिने दिन आयो पढ्नु प¥यो भन्ने होईन । सम्बन्धित कक्षाको पढाई सुरु भएपश्चात नै विषयवस्तु अध्ययन गर्ने बानी बसाल्नै पर्दछ ।
२. परीक्षा आयो भन्ने चिन्ता लिने र हरदम किताब पल्टाएर निद्रा मार्ने काम गर्नै हुन्न । शरीर स्वस्थ भएमात्र मष्तिस्क ताजा र क्रियाशील हुन्छ । यसैले, आफ्नो शरीरको सबैभन्दा बढी ख्याल गर्नै पर्छ । आहार अर्थात खानेकुरामा पर्याप्त ध्यान दिनै पर्छ । शरीरलाई पर्याप्त आराम चाहिन्छ । निद्रा अर्को जरुरी पक्ष हो । एक दिनमा विद्यार्थीले कम्तिमा ६ घण्टा निदाउनै पर्छ ।
३. अहिले म विद्यार्थी हुँ । मेरो जिवन लामो छ । मैले आफ्नो भविष्य सुन्दर र उज्वल बनाउनु पर्छ । मबाट बेठीक र गलत हुनै हुँदैन । मैले आफूलाई कमजोर होइन, सुदृढ बनाएर उच्च मनोबलका साथ अध्ययन गरी लक्ष्यमा पुग्नै पर्छ ।
४. दैनिक तालिका बनाएर सो अनुसार क्रियाशील बन्नै पर्छ । बिहान ब्युँझिएदेखि राती सुत्ने बेलासम्मको समय तालिका देखिने गरी कार्यान्वयनमा ल्याउनै पर्छ । अध्ययनको विषयगत जटिलताका आधारमा समय दिनुपर्छ । उदाहरणका लागि गणितलाई २ घण्टा समय दिँदा नेपालीलाई १ घण्टामात्र दिए पुग्छ । बिहान आवाज निकालेर पढ्ने बानी राम्रो हुन्छ ।
५. जाँचमा सोधिरहने खालका प्रश्नहरुको जवाफ लेख्ने र सो सम्बन्धित विषय शिक्षकलाई देखाउने अभ्यास गरिरहनु राम्रो मानिन्छ । विषय विज्ञहरुबाट हुने पृष्ठपोषणले परीक्षामा विशेष महत्व राख्दछ ।
६. पढ्दा खास–खास शिर्षक छानेर सतही र छिपछिपे अध्ययन हैन । विषयवस्तुको विस्तृत अध्ययन गर्ने र प्रत्येक दिन पुनःस्मरण गर्ने बानी बसाल्नु पर्दछ । अघिल्लो पाठ दोहो¥याएर मात्र नयाँ शिर्षक सुरु गर्नु उपयुक्त हुन्छ ।
७. साथीहरुसँगको छलफलले नयाँ कुरा सिकिन्छ । प्रत्येक दिन कम्तिमा २ घण्टा छलफलका लागि छुट्याउनु राम्रो हुन्छ । छलफलमा विषय र शिर्षक तोकेर समूहका साथीहरु बीचको आपसी सहकार्य र छलफलले विषयवस्तुको गहिराईमा पुग्न सहज बनाउँछ ।
८. सम्बन्धित विषयमा पढ्दै गर्दा प्रश्नहरु बनाउने र सोहि विषय शिक्षकसँग समय लिएर कक्षामै प्रश्न गर्ने बानी हुनै पर्दछ । साथीले सोधेका प्रश्नहरु आफ्नो पनि उही सवाल हुने भएकाले चनाखो र ध्यानपूर्वक सुन्ने र नोट गर्ने बानी गर्नु राम्रो हुन्छ । एउटै प्रश्न धेरैले सोधेर समय खेर फाल्नु हुँदैन ।
९. वर्तमान प्रविधिको युग हो । हामी समयानुकूल बन्नैपर्छ । मोबाईल फोन र ल्यापटप जस्ता डिभाईसहरुको प्रयोग आवश्यकता अनुसार हुनुपर्छ । सम्बन्धित विषयमा वेभसाइट र एआई समेतको प्रयोग गरी ईन्टरनेटको सदुपयोग गर्नु राम्रो हुन्छ । हामीले प्रविधिको प्रयोग गर्ने हो, प्रविधिले हामीलाई प्रयोग गर्ने हैन ।
१०. परीक्षाको मिति, समय र स्थान बारे सुनिश्चितता गरी ढुक्क भएर तयारीमा जुटिरहनु पर्छ । घरबाट परीक्षाको दूरी यकिन गरी पैदल जाने हो कि सवारी साधन हो, सोको स्पष्ट हुनुपर्छ ।
११. प्रवेशपत्र परीक्षा भन्दा अगाडिकै दिनमा नै लिएर फोटोकपी गरेर एकप्रति घरमै देखिने गरी राख्नु पर्छ । प्रवेशपत्रमा केरमेट गर्ने, कुनै चिनो लगाउने, मैल्याउने र च्यात्ने गर्नु हुँदैन ।
ख) परीक्षाको दिन :
१. परीक्षालाई डर, त्रास र हाउगुजीको कोणबाट होइन, यो एक अवसर हो भन्ने कोणबाट बुझ्नुपर्छ । अनावश्यक चिन्ता लिएर अघिल्लो दिनदेखि नै नखाने र नसुत्ने जस्ता काम गर्नै हुँदैन । शरीरमा स्फुर्ती देखिनु पर्छ । मनोबल उच्च बनाउनु पर्छ । मेरो परीक्षा अत्यन्त राम्रो हुन्छ भन्ने विश्वास गर्नुपर्छ ।
२. परीक्षा दिन जाँदा तोकिएको युनिफर्ममा जानुपर्छ । साथमा राम्रो सर्ने कलम, जगेडा अर्को कलम, प्रवेशपत्र, विषयगत सामग्रीहरु जस्तो स्केल, कम्पास, पेन्सिल आदि छुटाउनु हुँदैन । प्रवेशपत्रमा लेखिएका कुराहरु पढेर जानु राम्रो हुन्छ ।
३. परीक्षामा चीट बोकेर जाने, मोबाईल फोन बोकेर हलमा जाने, चोर्ने मानसिकता बनाउने जस्ता कामहरु कहिल्यै गर्नु हुँदैन । हलमा प्रवेश गर्नुअघि शौचालय जाने काम गर्दा हुन्छ । अनुशासित परीक्षार्थीको रुपमा परीक्षामा बस्नुपर्छ । परीक्षा अवधिमा दायाँबायाँ अगाडि पछाडि हेर्ने साथीहरुसँग सोध्ने काम पनि गर्नै हुँदैन । यो समयको बर्वादी पनि हो ।
४. हतार नगरी तोकिएको स्थानमा बस्ने र प्रवेशपत्र देखिने गरी अगाडि राख्नु पर्छ । समय हेर्न सँगै साधारण घडि हुनु उपयुक्त हुन्छ । कतिपय परीक्षा हलकै भित्तामा घडि देखिन्छन् । उत्तरपुस्तिका पाएपछि त्यहाँ लेखिएका कुराहरु पढ्दै तोकिएको लाईनमा सिम्बोल नम्बर अंकमा र अक्षरमा प्रष्ट बुझिने गरी केरमेट नगरी लेख्नु पर्छ । विषय, परीक्षा केन्द्र र मिति जस्ता भनिएका सबैकुराहरु सफासँग लेखेर रुजु गर्नु राम्रो हुन्छ । उत्तरपुस्तिकामा कहाँबाट लेख्ने र कति मार्जिन छोड्ने कुरा स्पष्ट पारेको हुन्छ ।
५. प्रश्नपत्र हातमा परेपछि हतार नगरी बिस्तारै एक पटक सबै पढ्दै जानु राम्रो हुन्छ । पढी सकेपछि क्रमैसँग उत्तर लेख्नु पर्छ भन्ने अनिवार्य छैन । सरलबाट जटिलतर्फ अर्थात आफूलाई राम्रो आउने प्रश्न प्रष्ट लेखेर जवाफ सुरु गर्न सकिन्छ ।
६. एक प्रश्नको जवाफ सकिए पश्चात कम्तिमा २ हरफ छाडेर मात्र अर्को उत्तर लेख्न शुरु गर्नुपर्छ । जोडेर लेख्नु राम्रो होईन । परीक्षकले हेर्दा सहजै फरक प्रश्नका फरक जवाफ देखिनु पर्छ । अक्षर सकेसम्म राम्रा, सहजै पढ्न सकिने र पढौं–पढौं लाग्ने हुनुपर्छ । केरमेट र अस्पष्ट अक्षरहरु भएमा परीक्षकले राम्रो मान्दैनन् ।
७. प्रश्नको अंकभारका आधारमा जवाफ लेख्नु पर्छ । सजिलो लाग्दा ५ अंकको प्रश्न पेज भरी लेख्ने अनि अलि कठिन छ भने १० अंकको लाई हाफ पेजमा सक्ने बानी राम्रो होईन । तसर्थ प्रश्नका अंकलाई हेरेर उत्तर दिनु पर्छ । यो समय व्यवस्थापनसँग पनि जोडिएको हुन्छ ।
८. परीक्षामा प्रश्न छाड्नै हुँदैन । विस्तारै सोचेर हतार नगरी सम्झी सम्झी जवाफ लेख्नै पर्छ । हरेक प्रश्नका जवाफ सकेपछि एक पटक सरसर्ती पढेर मात्र अर्को सुरु गर्नु राम्रो हुन्छ । हतार गर्नै पर्दैन । प्रत्येक प्रश्नका लागि आवश्यक समय दिनै पर्छ ।
९. सबै प्रश्नहरु सकिए पश्चात अन्तिम जनाउ घण्टी (वार्निङ वेल) बजेपछि एक पटक सबै उत्तरहरु रुजु गर्नै पर्छ । कुनै प्रश्नहरु पनि छाड्नै हुँदैन । अन्तमा सच्याउने अवसर पनि उपयोग गर्नु राम्रो हुन्छ । परीक्षा हलमा निरीक्षकसँग अनावश्यक बोल्ने र फाल्तु व्यवहार गर्नै हुँदैन ।
१०. उत्तरपुस्तिकालाई राम्रोसँग बुझाएपछि हतार नगरी प्रवेशपत्रसहित आफ्ना सामग्री जतनसँग बोकेर मात्र परीक्षा हलबाट बाहिरिनु राम्रो हुन्छ ।
११. बाहिर आएपछि कुनै प्रश्नको जवाफ बिग्रिएको थाहा भएर खिन्न मान्ने र चिन्तित हुने होईन । गइसकेको सवालमा सोच्ने भन्दा पनि भोलिको विषयतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । अन्तमा परीक्षार्थीहरुमा अपेक्षित सफलताको शुभभावना व्यक्त गर्दछु ।











