देशभरका सामुदायिक र निजी (संस्थागत) विद्यालयहरुमा विभिन्न तहका अन्तिम परीक्षा समाप्त भएको छ भने २०८२ को एसईई चैत्र १९ गतेदेखि संचालनमा रहेको छ । यसको अर्थ शैक्षिक सत्र २०८२ को समाप्तिसँगै नयाँ शैक्षिक सत्र २०८३ नजिकिँदै छ । कक्षा नर्सरीदेखि ९ कक्षासम्मको वार्षिक परीक्षाको नतिजा अभिभावक र विद्यार्थीको हात—हातमा पु¥याउने चटारोमा शिक्षकहरु लागिरहनु भएको छ । कतिपय विद्यालयले २४ गतेदेखि नतिजा प्रकाशन गर्ने सूचना सामाजिक सञ्जालमा राखिसकेका छन् भने अन्य सबै विद्यालयहरुले पनि नतिजाको अन्तिम तयारी गरिरहेका छन् ।

एसईई चैत्र २९ गतेसम्म संचालन हुनेछ । कक्षा १० को एसईई परीक्षा नियन्त्रण कार्यालयले संचालन गर्छ र त्यसको नतिजा पनि एकैपटक परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने प्रचलन रहेको छ । गत वर्षहरुमा एसईई सकिएपछि उक्त उत्तरपुस्तिकाहरु हरेक दिन जिल्ला प्रहरी कार्यालयमा सुरक्षितसाथ राख्ने र सबै परीक्षाहरु सकिएपछि उक्त संकलित उत्तरपुस्तिकाहरु फरक–फरक जिल्लाका उत्तरपुस्तिकाहरु छुट्टाछुट्टै जिल्लाहरुमा लगेर विषय विज्ञहरु (शिक्षकहरु) बाट परीक्षण गरिन्थ्यो । सबै विषयका उत्तरपुस्तिका परीक्षण गर्न झण्डै एक महिना लाग्थ्यो भने नतिजा आउन तीन महिना भन्दा बढी समय प्रतिक्षा गर्नुपथ्र्यो । परीक्षा सकिएको दिनबाट असार दोस्रो सातामा मात्र नतिजा प्रकाशित हुने गथ्र्यो ।

तर यस वर्ष नयाँ सरकारको गठनसँगै नवनियुक्त शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सस्मित पोखरेलले एसईई संचालन भएको केन्द्रमै सोही दिनको विषयको उत्तरपुस्तिका सोही दिनमा नै परीक्षण गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिए अनुरुप अहिले देशभरका केन्द्र रहेका विद्यालयहरुमा हरेक दिन परीक्षा भएका विषयको उत्तरपुस्तिकाहरु विशेष सुरक्षा व्यवस्थाका साथ परीक्षण भइरहेको छ । यही चैत्र मसान्तसम्म उत्तरपुस्तिका परीक्षणको काम सक्ने र एक महिनाभित्र एसईईको नतिजा पनि प्रकाशन गर्ने सरकारको योजना रहेको छ । सरकारको यस कार्यप्रति सम्पूर्ण विद्यार्थी र अभिभावक तथा शिक्षकहरुमा समेत खुशी र उत्साह छाएको छ । मानिसले चाहयो भने गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण एसईईको सञ्चालन तथा व्यवस्थापनले देखाएको छ ।

अब यसैगरी कक्षा १२ को राष्ट्रिय बोर्डले लिने अन्तिम परीक्षा र स्नातक तह तथा स्नातकोत्तर तहका सबै परीक्षाहरु समयमै लिने र छोटो समयमै नतिजा पनि प्रकाशित गर्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । सरकारले आफ्नो सपथ लिएर सरकार गठन गरेको दिनबाट नै सय दिनमा सय काम गर्ने अठोट सहित सार्वजनिक गरेको छ । यसरी नयाँ सांसद, नयाँ एकल बहुमतको सरकार, नयाँ कामको थालनीसँगै जनताले नयाँ अनुभव गर्न थालेका छन् । इन्धनको मूल्य उच्च भएसँगै सरकारले इन्धन खपतका लागि भन्दै चैत्र २३ गतेबाट लागु हुने गरी सरकारी कार्यालयहरुको समय बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कार्य गर्न सुरु भइसकेको छ । गत माघदेखि पश्चिम एशियामा देखिएको अमेरिकी आक्रमण र इरान अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । जसको प्रत्यक्ष असर नेपालजस्तो मुलुकमा पर्न गएको छ ।

सरकारले यस वर्षको शैक्षिक सत्रको सुरुवात २०८३ बैशाख १५ गतेदेखि गर्ने सूचना सबै विद्यालयहरु र मातहतका कार्यालयहरुमा गरिसकेको छ । अब सरकारको निर्देशनसँगै विद्यालय प्रशासनले पनि वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक योजनाका साथ विद्यालय संचालन गर्ने तयारी पनि गर्दैछ । यसका लागि आवश्यक पूर्वतयारी गर्न शिक्षक कर्मचारीको बैठक बसेर विभिन्न विषयगत निर्णयहरु गर्नुपर्ने हुन्छ । त्यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुले आ–आफ्नो जिम्माको काम सम्पन्न गर्न उपयुक्त वातावरण बनाउनु पर्दछ ।

१. विद्यालय व्यवस्थापन समिति : हरेक विद्यालयमा शिक्षा नियमावलीको परिधिमा रहेर गठन भएको एक विद्यालय व्यवस्थापन समिति हुन्छ । विद्यालय व्यवस्थापन समितिको पदावधि समाप्त भएको छ भने तत्काल अभिभावक भेला डाकेर प्रधानाध्यापकले नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि पहल गर्नुपर्छ । विद्यालयको भौतिक निर्माण, आर्थिक विकास र राम्रोसँग संचालन गर्नका लागि सम्पूर्ण शिक्षकहरुसँग अन्तरक्रिया गरी शिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्ने तथा शिक्षकहरुका अध्यापनका क्रममा परेका समस्याहरु छन् भने त्यसको समाधानका लागि विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरी निर्णय लिने काम गर्न सक्छ । विद्यालयका आन्तरिक नीति, नियम बनाउने र सोही अनुसार विद्यालय संचालन गर्न निर्देशनसहित सुझाव दिन सक्छ ।

२. शिक्षक अभिभावक संघ : विद्यालयको सिकाई उपलब्धि बढाउन र शिक्षकहरुको नवप्रर्वतनलाई प्रोत्साहन गर्ने शिक्षक अभिभावक संघको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षक र अभिभावक बीचको पुलको काम पनि यस संघले गर्नुपर्ने हुन्छ । शिक्षक र अभिभावकको भेटघाटको वातावरण मिलाउने र विद्यार्थीको सकारात्मक र नकारात्मक विषयको बारेमा अभिभावकसँग बसेर समन्वय र परामर्श गर्न सक्नुपर्दछ । यस कार्यका लागि शिक्षक अभिभावक संघले एउटा वार्षिक कार्ययोजना बनाई बैठकबाट पारित गरी लागु गर्न आवश्यक छ । यसो गर्न सकेमा सिकाइ उपलब्धिको सूचक बढ्न सक्छ ।

३. प्रधानाध्यापक : विद्यालयको मुख्य प्रशासनिक र दैनिक कार्य संचालन गर्ने जिम्मा प्रधानाध्यापकको रहन्छ । प्रधानाध्यापक मातहत शिक्षकहरु, लेखा हेर्ने कर्मचारी (लेखापाल) र अन्य सहायक कर्मचारीहरु रहन्छन् । ती सबैलाई समन्वय गरेर कार्य संचालन गर्न प्रधानाध्यापकको भूमिका हुन्छ । प्रधानाध्यापकले शैक्षिक सत्र सुरु हुनु भन्दा अगाडि वार्षिक कार्यतालिका, दैनिक कार्यतालिका बनाई आफ्नो वार्षिक कार्ययोजनामा समावेश गर्नुपर्दछ । विद्यालयमा गर्ने वर्षभरीको कामलाई सहज बनाउन विभिन्न विभाग र समिति निर्माण गरी लागु गर्न प्रधानाध्यापकले शिक्षक कर्मचारी बैठक बसेर निर्णय गर्नुपर्दछ ।
शिक्षकहरुलाई पुनर्ताजगी तालिमको व्यवस्था गर्ने । शिक्षकले अध्यापन गरेको विषय अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने तथा आवश्यक सुझावहरु दिने कार्य पनि प्रधानाध्यापकले गर्नुपर्ने हुन्छ । शिक्षकहरुप्रति समान व्यवहार गर्ने, मासिक बैठक बसी शिक्षकहरुबाट आएका राम्रा सुझावहरु कार्यान्वयन गर्ने काम पनि पर्दछ । आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक र विद्यार्थीलाई समेत वार्षिक भेलामा पुरस्कृत गर्ने र कम उत्तीर्ण प्रतिशत ल्याउने शिक्षकलाई प्रोत्साहन पुग्ने खालका कार्यक्रम पनि ल्याउनु पर्दछ । शिक्षकको रुची, कार्यक्षमता र दक्षताको आधारमा अध्यापन गर्ने विषयको जिम्मेवारी तोकी लागु गर्नु उपयुक्त हुन्छ । यसरी मिलेर सामूहिक भावनामा काम गरेमा विद्यालयको समग्र पक्षमा सुधार हुन्छ ।

४. शिक्षकको जिम्मेवारी : शिक्षक वर्गको प्रत्यक्ष सम्पर्क आफूले अध्यापन गर्ने विद्यालर्थीहरुसँग रहन्छ । सर्वप्रथम आफूले पढाउने विषयको दैनिक पाठ योजना संक्षेपमा बनाउँदा ज्यादै राम्रो हुन्छ । पाठयोजना अनुसार सिकाई गर्दा शिक्षण गर्न सजिलो हुनुका साथै विद्यार्थीलाई सिक्न पनि सजिलो हुन्छ । कक्षामा प्रवेश गर्दा शैक्षिक सामग्री लिएर प्रवेश गर्ने, हँसिलो अनुहारका साथ प्रवेश गर्ने बानी गर्नुपर्दछ । शिक्षकले सिकाई प्रारम्भ गर्नु अघि उनीहरुको ध्यानाकर्षण गर्ने उपायहरु पनि गर्नुपर्दछ । प्रधानाध्यापकले दिनुभएको जिम्मेवारी समयमै कुशलतापूर्वक सम्पन्न गर्न दत्तचित्त भएर लाग्नु पर्दछ ।

५. अभिभावकको भूमिका : आफ्ना नानीबाबुहरुलाई असल र दक्ष तथा ज्ञानी बनाउनको लागी अभिभावक पनि उत्तिकै जिम्मेवार हुनुपर्दछ । आफ्ना छोराछोरीको बारेमा समय–समयमा शिक्षकलाई प्रत्यक्ष भेटेर वा फोन सम्पर्क गरेर जानकारी लिने गर्नुपर्दछ । शिक्षकसँग सुमधुर सम्बन्ध राख्ने र राम्रो व्यवहार गर्नुपर्दछ । छोराछोरीप्रति घरमा पनि राम्रो बोली वचन गर्ने र शिक्षकको बारेमा आफ्नो छोराछोरीलाई अभद्र व्यवहार गर्नुहुँदैन । शिक्षक भनेका गुरु हुन् । उहाँप्रति सधैँ नम्र र असल व्यवहार गर्नुपर्छ भनेर अभिभावकले आफ्नो छोराछोरीलाई सम्झाउनु पर्छ । यसरी घरमा आमाबाबुले असल बानी सिकाउने, विद्यालयमा शिक्षकले ज्ञानका कुरा सिकाउँदा सबै छोराछोरी असल र ज्ञानी हुन्छन् र सफल पनि हुन्छन् ।

६. विद्यार्थीको कर्तव्य : यसरी एउटा विद्यालय सुधार हुन त्यहाँका अध्ययनरत विद्यार्थी पनि अनुशासित हुनु नितान्त आवश्यक छ । अनुशासन नै विद्यार्थीको गहना हो । गुरुप्रति आदर गर्ने, गुरुले भनेको आज्ञा पालन गर्ने र गुरुले सिकाएको सिक्ने र ज्ञान हासिल ग¥यो भने त्यस्तो विद्यार्थी सधैं जीवनमा सफल हुन्छ । घरमा पनि बाआमाप्रति सधैँ आज्ञापालक बन्नुपर्छ । आफ्नो कर्तव्य पथमा सधैं अघि बढ्नुपर्छ । यसरी नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै विद्यालयका सबै पक्षबाट आ–आफ्नो योजनासहित कर्तव्यपथमा लागेमा विद्यालयको सर्वोपरी विकास सम्भव छ भन्न सकिन्छ । (लेखक शर्मा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविका शिक्षक हुनुहुन्छ ।)