विद्यालय समाजमा स्थापित एक व्यवस्थित किसिमको शिक्षा प्रदान गर्ने औपचारिक संस्था हो । विद्यालयको स्थापना व्यक्ति र समाजको भलाईका लागि भएको हुन्छ । विद्यालयले सामाजिक, सांस्कृतिक मूल्य, आदर्श नयाँ पुस्तामा हस्तान्तरण गर्ने र संस्कृतिको संरक्षण र सम्बर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यालय समाजको अभिन्न अंगको रुपमा रहेको हुन्छ । विद्यालय बिना समाजको प्रगति सम्भव छैन भने समाज बिना विद्यालयको अस्तित्व नै रहँदैन । यस अर्थमा हेर्दा विद्यालय पूर्ण समाजको सानो प्रतिनिधि समाज हो । तर अहिले विद्यालयहरु कोभिड–१९ ले गर्दा लगातार ६ महिना बन्द भए । अहिले पनि संघीय शिक्षा मन्त्रालयले अनलाइन कक्षा वा चौथो विकल्पलाई मात्र विद्यालय तहमा स्वीकृती दिने र अरु विकल्पमा सम्भव नभएको निष्कर्ष शिक्षामन्त्रीको अन्तर्वार्ता र भनाईहरुमा देखिएको छ । यसै सन्दर्भमा विद्यालय तहको शिक्षालाई कसरी अनलाइनबाट कक्षा सञ्चालन गर्न सकिएला ? त्यस सन्दर्भमा यस लेखमा सामान्य छलफल गरिएको छ ।

बालकुमार श्रेष्ठ

कुनै पनि बालक जन्मँदाखेरी नै असल वा खराब भन्ने हुँदैन र जन्मँदा नै उसले केही अन्तरनिहित क्षमता लिएर आएको हुन्छ । ती क्षमतालाई विकास गर्ने काममा उसका बुबा–आमा, अभिभावक, घरपरिवार, छिमेकी, समुदाय, विद्यालय तथा समाजको वातावरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । भिन्नभिन्न समाजमा भिन्नभिन्न किसिमका सामाजिक मूल्य मान्यता, संस्कृति, अदर्शहरु हुन्छन् । त्यसैले वर्तमान समयमा अनलाइन कक्षा सञ्चालन गर्ने काम पनि स्थानीय तहहरुले शुरु गर्नुपर्ने समय भएको छ । यो आफैमा न खराब अभ्यास हो, न त्यति असामान्य अभ्यास नै हो । वास्तवमा विकसित देशहरुमा थप सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठा बाहेकका समयमा पनि यस्ता अनलाइन कक्षा सञ्चालन गर्ने, त्यसबाट असाइन्मेट पठाउने, पृष्ठपोषण दिने आदि कामहरु भैरहेका थिए । नेपालको परिप्रेक्षमा यो एउटा नयाँ कुरा र कोरोनाको कारणले लागू गर्नुपरेको बाध्यात्मक अवस्था हो । त्यस सन्दर्भमा शिक्षक कति प्रविधिमैत्री छन् ? उनीहरुको घरबाट कक्षा सञ्चालन गर्न आवश्यक सीप हुनुपर्दछ । त्यसपछि विद्यालयमा र शिक्षकको घरघरमा वाईफाई फ्री छ कि छैन वा उनीहरुले अनलाइन शैक्षिक सामग्री उत्पादन गर्न घरमा अन्य समय पनि नेट इन्टरनेटको उपलब्धता हुनुपर्दछ । त्यसका साथै टोल–टोलमा फ्री वाईफाइ भएमा त्यहाँका विद्यार्थीहरु अनलाइन कक्षामा सहभागी हुन सजिलो हुन्छ । यदि विद्यार्थीसँग स्मार्ट फोन, ट्याब्लेट, ल्यापटप, आइफोन, आइप्याड आदि नेट सर्फिङ्ग ग्याजेट्स मध्ये कुनै एक उपलब्ध हुनुपर्छ । यी न्यूनतम पूर्वाधार भए । यसमा विद्यालयको मात्र खर्चले धान्न सकिँदैन, स्थानीय र प्रदेश सरकारले वाईफाइ र ग्याजेटबारे नयाँ लगानी गर्नुपर्ने र त्यसलाई विद्यालयहरुले ग्रहण गरी साथ दिनुपर्ने देखिन्छ । स्थानीय तहका शिक्षा विकास महाशाखाहरु र प्रदेश सामाजिक विकास मन्त्रालयहरुले यसबारेमा विद्यालयले टिपेको इमिस डाटाका आधारमा विद्यार्थीमा उपलब्ध अनलाइनमैत्री ग्याजेट र वाइफाइको तथ्याङ्कमा आधारित भई कसरी योजनावद्ध तरिकाले लगानी गर्नूपर्ने देखिन्छ ।

सामाजिक बनावट, सामाजिक सांस्कृतिक प्रक्रिया, संस्कृति, अन्तरक्रिया आदिका आधारमा नै विद्यालयको पाठ्यक्रम, शिक्षक, विद्यार्थीको स्थान, मूल्यांकन प्रक्रिया आदि निर्धारित हुन्छन् । त्यसैले विद्यालय सामाजिक स्थल हो । यसको आफ्नो छुट्टै आदर्श वा पहिचान हुन्न । समाजको उप अंग भएकोले समाजको जुन आदर्श हुन्छ, त्यस विद्यालयमा पनि सोही आदर्श र पहिचान बनेको हुन्छ । दैनिक रुपमा बालबालिकालाई ज्ञान, सीप र व्यवहार सिकाउने, व्यवहारिक परिवर्तन ल्याई उनीहरुलाई देशभक्त र निपूर्ण जनशक्ति उत्पादन गर्ने क्रममा विद्यालयका कक्षा–कोठाभित्र र कक्षा–कोठा बाहिर समेत पाठ्यक्रमको अभ्यास गराइन्छ । पाठ सहजीकरण र परीक्षामा सफल हुने क्रमको अभ्यासमा मात्र विद्यालयका पहिचान सीमित हुँदैनन् । समाजकै बालबालिकाको शिक्षा–दीक्षाका लागि विद्यालयका दैनिक गतिविधिहरु सञ्चालन गरिएका हुन्छन् ।

सामाजिक सभ्य आचरणका लागि विद्यालयमा सिकाइने दैनिक व्यावहारिक पाठहरु समेत समाजको आवश्यकता भएकाले विद्यालयमा सिकाइने सबै व्यवहारिक ज्ञानहरु समेत समाजकै अंगका रुपमा हुन्छन् । अहिलेको विषम परिस्थितिमा त्यो काम अनलाइन कक्षाबाट गर्दा मात्र संक्रामक रोगको न्यूनीकरण गर्दै अध्यापन अगाडि बढाउन सकिने देखियो । त्यसैले अबको विद्यार्थीलाई भर्चुअल कक्षामा उपस्थिति गराई पाठ्यक्रमले अपेक्षा गरेका अभिवृत्ति परिवर्तन गर्न सकिन्छ, तर त्यसका लागि सामाजिक अभियन्ता, टोल विकासका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु र स्थानीय अभिभावक सबैको सहयोगमा अनलाइनको पहुँच वृद्धि र सहभागितामा अनिवार्य गराउन सकिन्छ । यदि केही कठिनता भएमा त्यसलाई समेत स्थानीय तह र प्रदेश सरकारको निर्देशनअनुसार भर्चुअल कक्षाबाट नै अन्तरक्रिया र अनुभव आदान–प्रदान गरी उपाय निकाल्न सकिन्छ । तर त्यसका लागि तालिकावद्ध अनुगमन र पृष्ठपोषण हुनुपर्दछ । अब स्थानीय तहहरु, शिक्षा विकास तथा समन्वय एकाइहरुले पनि परम्परागत भौतिक उपस्थितिबाट होइन कि अनलाइनबाटै अनुगमन गर्न सक्ने कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्दछ ।

एउटा विद्यालय समाजको ऐना हो । किनकी समाजका विभिन्न पृष्ठभूमि बोकेका बालबालिकालाई सामाजिक एकता, समानता, सहिष्णुताको पाठ सिकाई समाज सापेक्ष जीवननिर्वाह गर्न सक्ने नागरिक तयार गर्न विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । समुदायको आवश्यकताअनुसार विद्यालय सञ्चालन हुन्छन् । अहिले समुदायका करिब ९० लाख विद्यार्थीहरु शैक्षिक सत्र के हुने भन्ने अन्यौलता बढिरहेको समायमा बालबालिकाको सिकाई गर्न पाउने अधिकारलाई अनलाइन शिक्षाले पूरा गर्न सक्छ । त्यसका लागि समाजका सबै नागरिकले पहिलेभन्दा बढी शिक्षा क्षेत्रका शिक्षक र विद्यालयलाई सहयोग गरिदिनुपर्ने देखियो । बालबालिकालाई मोबाइलको जोहो गरिदिने कर्तव्य अभिभावकको हो ।

विद्यालयका उद्देश्य तथा कार्यहरु प्रत्यक्ष रुपमा समुदायका आवश्यकतामा आधारित हुन्छन् । वास्तवमा विद्यालय सामुदायिक स्रोत हुन् । विद्यालयले बालबालिकाको चौतर्फी विकास गर्ने, भावी जीवनका लागि उनीहरुलाई तयार गर्ने र सामाजिक कुशलताको विकास गर्ने काम गरिरहेका हुन्छन्् । समुदायले आफ्ना बालबालिकाको शिक्षाका लागि विद्यालयको स्थापना गर्दछ । त्यसरी स्थापित विद्यालयले समाजलाई अग्रगति प्रदान गर्न भूमिका निर्वाह गर्दछ । जहाँ विद्यालय छ, त्यहाँबाट सही शिक्षा दिइएको छ भने त्यो समुदाय उन्नत हुन्छ । यसरी हेर्दा समुदाय र विद्यालय अन्तरसम्बन्धित र अन्तरनिर्भर हुन्छन् । अनलाइन शिक्षामा पनि विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबीच दोहोरो अन्तरकिया हुने भएकोले स्थानीय तहले केही अनुसन्धान गरी अनलाइनबाट कक्षा सञ्चालन अनिवार्य रुपमा हुने, त्यसका लागि आवश्यक तयारी भइसकेको र विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षामा सहभागिता गर्न अनलाइनबाटै भर्ना गर्ने, अनलाइनबाटै परीक्षा सञ्चालन हुने र त्यही पढाइलाई शिक्षकको अवलोकनबाट ५० प्रतिशत र लिखित परीक्षाबाट ५० प्रतिशत मूल्याङ्कन गरी कक्षोन्नति हुनेछ, त्यसमा सहभागिता नजनाउने विद्यार्थीहरुको मात्र शैक्षिक वर्ष दोहोरिने छन् गरी कक्षोन्नति हुनेछ, त्यसमा सहभागिता नजनाउने विद्यार्थीहरुको मात्र शैक्षिक वर्ष दोहोरिनेछ भन्ने खालको सूचनालाई स्थानीय एफएम रेडियो, स्थानीय पत्रपत्रिकाहरुमा सूचना जारी गरेमा ९० प्रतिशत जति (हेटौंडा उपमहानगरपालिकाको हकमा) विद्यार्थीलाई अनलाइनमा अभ्यस्त गराउन सकिन्छ । त्यसपछिको पहुँचमा नआएका १० प्रतिशत विद्यार्थीहरुलाई मुद्रित स्रोत सामग्रीको साप्ताहिक व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन ? त्यसलाई पनि स्थानीय तहले दोस्रो चरणमा अघि बढाउन सकिन्छ ।

विद्यालयको अवस्थिति समुदायमै हुने र समुदायबाटै विद्यालयमा विद्यार्थी आउने हुनाले त्यहाँको सामाजिक तथा सांस्कृतिक व्यवहारको प्रभाव एउटा विद्यालयमा पर्दछ । फेरि विद्यालयबाट प्राप्त ज्ञान, सीप, क्षमताहरुले विद्यार्थी तथा समुदायका सदस्यहरुको सांस्कृतिक तथा सामाजिक विकासमा सहयोग पुग्छ । यस अर्थमा विद्यालय र समुदाय परिपूरक शक्तिहरु हुन् । एउटा पक्षले अर्कोको विकासमा सहयोग पु¥याएका हुन्छन् । विद्यालयको विकासका लागि समुदायले स्रोत र साधन उपलब्ध गराउछ भने विद्यालयका साधन स्रोतलाई समुदायको हितमा पनि लगाउन सकिन्छ । यसरी समुदाय र विद्यालयका बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ, दोहोरो सम्बन्ध हुन्छ र सधैं परस्परमा अन्तरनिर्भर सम्बन्ध हुन्छ । अहिलेको अनलाइन कक्षालाई पनि विद्यालयहरुको विषय समाजले एकीकृत रुपमा अनलाइन कक्षाका सामग्री उत्पादन गर्न समुदायका अगुवाहरुले सहयोग गर्न सकिन्छ ।

स्थानीय तहमा अहिले हेटौंडामा ७७ वटा सामुदायिक विद्यालयहरु छन् । तीनमा भएका मावि, आधारभूत विद्यालय र प्राथमिक विद्यालयहरुलाई ४ समूहमा विभाजन गरी शुरु–शुरुमा सबै तहका ४ वटा केन्द्रबाट मात्र अनलाइन कक्षा सञ्चालन गरी बाँकी विद्यालयहरुलाई त्यसमा गेष्टको रुपमा सहभागी गराइ अनुभव प्रदान गर्न सकिन्छ । त्यसका लागि पनि सबै विद्यालयलाई शुरुमा वाइफाइयुक्त र सकेसम्म बढी विद्यार्थीहरुलाई स्मार्ट एन्ड्रोइड फोन वा यस्तै उपकरणको व्यवस्थापन गर्नुपर्छ । यो नै अहिलेको ठूलो चुनौति रहेको देखिन्छ । त्यसमा पनि स्थानीय तह र समुदायका नेतृत्व वर्गले, प्रदेश सरकारले पनि सहयोग गर्नुपर्दछ । यसरी सामुदायिक विद्यालयमा धनी–गरीब सबै परिवारका बालबालिकाहरु समुदायबाट आउने र सामुदायिक विद्यालयमा सरकारी अनुदान दिइने र जनप्रतिनिधि वा स्थानीय तहमार्फत उनीहरुको नियमन र अनुगमन हुने भएकाले अनलाईन शिक्षाको माध्यमबाट पनि सामुदायिक विद्यालय र समुदायबीच अझ प्रगाढ सम्बन्ध बनाइन सकिन्छ ।

वर्तमान समयमा सामुदायिक विद्यालय र अनलाइन शिक्षामा लागेका आरोप र प्रत्यारोप गर्नु भन्दा यसको न्यायोचित विश्लेषण गरी अनलाइन कक्षामा देखिएका समस्या समाधानका लागि समेत विद्यालय र समुदायको दोहोरो वार्ता, संवाद र सद्भाव हुनु जरुरी छ । त्यसतर्फ पनि स्थानीय तहका जनप्रतिनिधिले सोँचविचार गरे अनलाईन कक्षा विद्यालय तहमा पनि सम्भव छ ।
(लेखक ः श्री सिद्धार्थ माविका सामाजिक विभाग प्रमुख तथा सोसल स्टडिज टिचर्स एशोसियशन नेपालका महासचिव हुन् ।) balkumars466@gmail.com