हेटौंडाः कोरानाका कारण कृषि क्षेत्रमा पुगेको क्षति न्युनिकरणका लागि नीतिगत तहबाट आवश्यक कदम चाल्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल कृषि अर्थशास्त्र समाजले शनिबार आयोजना गरेको वेबिनायरमा सहभागी हुँदै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

वेबिनायर कोभिड १९ः एग्रिकल्चरल पोलिसिज, प्रोग्राम एन्ड इनिसिएटिभ्स इन नेपाल विषयमा गरिएको थियो । विज्ञहरुले उपभोग्य वस्तुहरुको बजार पहूँच, लगानी, सहुलियतपूर्ण कृषि कर्जाको प्रत्याभूति, न्युनतम समर्थन मूल्य तोकी सरकारबाट बजारको सुनिश्चितता, रणनीतिक सुधार, बाँझो जमिनको सदुपयोग, खेति प्रणालीमा सुधार, सूचना प्रविधि , उच्च प्रविधी, कृषि सामग्रीको उपयोगिता आदि विषयमा सरकारले नीतिगत निर्णय गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य डा। गणेश जोशी, पूर्वमन्त्री टेकबहादुर थापा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र भारी, राष्ट्रिय कृषि अनुसन्धान परिषद्का कामु कार्यकारी निर्देशक दिपक भण्डारी लगायतको सहभागिता थियो । यसैगरी कार्यक्रममा प्रदेश नम्बर १, २, वागमती प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका कृषि सचिवहरुले आ–आफ्ना प्रदेशका अवस्थाबारे जानकारी गराएका थिए ।

प्रदेश सविचहरुले कोरोनाको मारबाट कृषकहरुलाई जोगाउँन आफ्ना सरकारहरुले गरेका नीतिगत व्यवस्था, कार्यक्रम र प्रयासबारे प्रस्तुतिकरण गरेका थिए । त्यस्तै सचिवहरुले प्रस्तुतिबारे सेमिनारमा उठेका प्रश्नको जवाफ पनि दिएका थिए । वेबिनायरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी डिन प्राध्यापक डा। कल्याणी मिश्र, संयुक्त राष्ट्रसंघका परामर्शदाताहरु, सामाजिक क्षेत्रमा कार्यरत कृषि अर्थशास्त्रीहरु, कृषिका विद्यार्थी लगायतको सहभागिता थियो ।

समाजका अध्यक्ष तथा बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले बागमती प्रदेशको वस्तु स्थितिको जानकारी गराउनुभएको थियो भने सहभागीहरुका प्रश्नको पनि जवाफ दिनुभएको थियो ।

कार्यक्रमलाई कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिव भोजराज सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा देशभरका विभिन्न क्षेत्रमा कार्यरत करिव २ सय कृषि अर्थशास्त्रीहरु सहभागी थिए ।
सेमिनारबाट प्राप्त सुझावहरुलाई आगामी कार्यक्रमहरुमा पेश गर्ने तथा समाजको वेबसाइटमा राखिने भएको छ । अर्को सेमिनार दशैंताका गरिने छ । उक्त सेमिनारमा विदेशबाट फर्किएका कामदारहरुलाई कसरी रोजगारी सिर्जना गर्ने तथा साना कृषकहरुलाई खाद्य सुरक्षाको प्रभ्याभूति गर्ने उपायबारे केन्द्रित रहने जानकारी दिइएको छ ।