हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डले आज ७६ जनाको स्वाब सङ्कलन गरेको छ । आज सङ्कलित स्वाब मध्ये ३१ वटा कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेसनमा रहेर उपचाररत व्यक्तिको र ४५ वटा स्वाब नयाँ व्यक्तिको भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
आजै मकवानपुरको मनहरी गाउँपालिकाले ७३ जनाको स्वाब सङ्कलन गरेको छ । मनहरीले सङ्कलन गरेको स्वाबमा ६ वटा स्वाब नमूना कोरोना सङ्क्रमित भई आइसोलेसनमा उपचाररत व्यक्तिको हो भने ६७ वटा स्वाब नयाँ व्यक्तिको भएको मनहरीका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभएको छ । हेटौंडास्थित आइसोलेसन वार्ड र मनहरीबाट सङ्कलित स्वाब हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा परीक्षणका लागि पठाइनेछ ।
मनहरी गाउँपालिकामा हालसम्म २४ जना सङ्क्रमित पहिचान भएको छ भने सङ्क्रमित मध्ये १७ जना उपचारपछि सङक्रमणमुक्त भएका छन् । मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डमा अहिले मनहरीकै ७ जना कोरोना सङक्रमित र एकजना राक्सिराङ गाउँपालिकाका सङक्रमित गरी ८ जना उपचाररत छन् । मनहरी गाउँपालिकाका एकजना भने चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएको सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।