हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीको कमाने एकेडेमी शिक्षक पाठशालाले एक दिने कथा लेखन तथा पुस्तक निर्माण कार्यशाला सम्पन्न गरेको छ । आइतबार संस्थागत र सामुदायिक गरी ११ वटा विद्यालयका शिक्षक र विद्यार्थीलाई एक दिवसीय कार्यशाला सञ्चालन गरेको कमाने एकेडेमीकी सहायक प्रधानाध्यापक लक्ष्मी बस्नेतले जानकारी दिनुभयो ।
तालिममा प्रत्येक विद्यालयबाट एक नेपाली शिक्षक र दुईजना विद्यार्थीको उपस्थिति रहेको थियो । शिक्षक र विद्यार्थी बीच सहकार्य र समन्वयको अभ्यास गर्ने गरी विद्यार्थी र शिक्षकको सहभागितामा कार्यशालाको आयोजना गरिएको सहायक प्रधानाध्यापक बस्नेतले स्पष्ट पार्नुभयो । तालिममा कथा कसरी लेख्ने र त्यसलाई किताब कसरी निर्माण गर्ने भनेर सिकाइएको थियो । कार्यशालामा भाषिक शुद्धाशुद्धि, समूहमा काम गर्ने बानी, साहित्यको रूपमा आफूलाई चिनाउने गरी काम गर्न, बालसाहित्य कथा निर्माण र किताब साहित्यतर्फ पुस्तक निर्माण गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यशालामा लेखक तथा कथाकार यशु श्रेष्ठ, कमाने एकेडेमीकी सहायक प्रधानाध्यापक लक्ष्मी बस्नेत र शिक्षक सुष्मा सिवाकोटीले सहयोग गर्नुभएको थियो । तालिममा सहभागी शिक्षक र विद्यार्थीले एउटा कथा लेखेर पुस्तक निर्माण गर्नुभएको थियो । निर्माण गरिएको पुस्तक सम्बन्धित विद्यालयका शिक्षकले नै लिएर जानुभएको छ । यस्ता तालिमले विद्यालयमा अध्ययनरत अरु विद्यार्थीहरूलाई त्यस सम्बन्धी ज्ञान बढाउन आगामी दिनमा त्यस्ता किसिमका तालिमको आयोजना गर्ने विद्यालयले जनाएको छ । कमाने एकेडेमीका विद्यार्थीहरूलाई यसअघि नै यस्ता कार्यशालामा सहभागी गराइसकिएको सहायक प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो । कार्यशालामा सहभागी भएका विद्यार्थीले कथाका पुस्तकहरू समेत निर्माण गरिसकेका छन् । १० कक्षासम्म पठनपाठन हुने कमाने एकेडेमीमा ७ सय विद्यार्थी अध्ययनरत छन् ।











