निर्वाचित एकराज उप्रेती

हेटौँडा : नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको अध्यक्षमा मकवानपुरका एकराज उप्रेती निर्वाचित हुनुभएको छ । बिहीबार काठमाडौंमा सम्पन्न संघको १८ औँ वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनबाट उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

नयाँ कार्यसमितिमा कोही सर्वसम्मत चयन भएका थिए भने केहि निर्वाचनमार्फत चयन भएका थिए । उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीनाकुमारी ढकाल र सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधित्वअनुसार बागमतीबाट एकराज उप्रेती, गण्डकीबाट कृष्णबाबु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध चयन हुनुभएको हो । कोशी प्रदेशबाट इन्दिरा निरौला, मधेस प्रदेशबाट मिश्रलाल सहनी र कर्णाली प्रदेशबाट धर्मराज थापा निर्वाचित हुनुभएको छ ।

खुला सञ्चालकतर्फ चिरञ्जीवी केसी, सुखदेव न्यौपाने, हरिबहादुर बस्नेत र हरिबहादुर अधिकारी विजयी भएका छन् भने महिला सञ्चालकतर्फ गीता केसी, मीनाकुमारी ढकाल, देवकीकुमारी भण्डारी र गोमादेवी आचार्य निर्वाचित भएका छन् । निर्वाचित १५ सदस्यीय कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

संघअन्तर्गत हाल १ हजार १ सय ५१ सदस्य संस्था आबद्ध रहेका छन् । संघले ७७ जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै करिब ९ लाख घरपरिवार किसानलाई सेवा प्रदान गर्दै आएको छ । ग्रामीण क्षेत्रमा रहेका आर्थिक पहुँच नभएका गरिब किसानहरुलाई कृषि सहकारीको माध्यमबाट कृषि पेसालाई व्यवस्थित र मर्यादित बनाउदै तीनै तहका सरकारसँग सहकार्य गरेर गरिब किसानहरुको जीवनमा परिवर्तन ल्याउने उद्देश्य रहेको उहाँले बताउनुभयो । उप्रेती लामो समयदेखि सहकारी क्षेत्रमा सक्रियरुपमा लाग्नुभएको थियो भने उहाँ मनहरी गाउँपालिकाको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।