पत्रकार सम्मेलनमा काँग्रेस मकवानपुरका नेताहरु ।

हेटौंडाः नेपाली कांग्रेसको महाधिवेशन छिट्टै गर्नुपर्ने कांग्रेस मकवानपुरले धारणा राखेको छ । शनिबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्ध लामाले कांग्रेसको मौलिक अवधारणाअनुसार छिट्टै अधिवेशन हुनुपर्ने बताउनुभयो ।

उहाँले नियमित वा विशेष महाधिवेशनमा अल्झिनुभन्दा पनि देशमा पछिल्लो राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने गरी महाधिवेशन हुनुपर्ने पक्षमा कांग्रेस मकवानपुर रहेको बताउनुभएको छ । केही वर्षयता कांग्रेसले कम्युनिष्टसँग सहकार्य गरी निर्वाचन र सरकारमा सहभागी हुँदा पार्टीले आफ्नो मौलिकता गुमाउँदै गएको उहाँले बताउनुभयो । अबको महाधिवेशनमार्फत पार्टीको मौलिकता पुनः स्थापना गर्दै लानुपर्नेमा सभापति लामाले जोड दिनुभयो ।

कम्युनिष्टहरुसँगको संगतले कांग्रेस नियमित र विशेष महाअधिवेशनमा अल्झिन पुगेको उहाँको धारणा छ । उहाँले एमाले र माओवादीसँग मिलेर सरकार बनाउँदा कांग्रेसलाई राजनीतिकरुपमा असर परेको उल्लेख गर्दै नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमिलाई जोगाइराख्न पनि नियमित महाधिवेशन छिट्टै गर्नुपर्ने सभापति लामाले बताउनुभयो । अबको समयमा संवैधानिक त्रुटीलाई सच्याउनेदेखि जेनजी पुस्ताको मागलाई सम्बोधन गर्नसमेत कांग्रेसको महाधिवेशन तोकिएको चुनावअघि नै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्यालले कांग्रेसको विधानमा तोकिएको ४ वर्षमा महाधिवेशन हुँदैन भन्ने मानसिकता कांग्रेसजनमा रहेको बताउनुभयो । विगतमा कांग्रेसको महाधिवेशन समयमै हुन नसक्दा विधान नै संशोधन गर्नुपरेको उहाँले जानकारी दिनुभयो । ४ वर्षे कार्यकालमा कांग्रेसको अधिवेशन हुन नसक्दा विधानमा थपिएको एक वर्षमा समेत अधिवेशन हुन नसकेर पुनः विधान संशोधन गरी ६ महिना थप गरेर अधिवेशन गरी पार्टी विघटन हुनबाट जोगाएको उहाँले स्मरण गर्नुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, प्रवक्ता अर्जुन चौलागाईंलगायत कांग्रेसका नेताहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसैबीच, शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भने महाधिवशेनबारे कुनै निर्णय नगरी सकिएको छ ।