हेटौँडा : विज्ञान दिवसको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको विज्ञान र गणित सामग्री प्रदर्शनीमा सरस्वती बालबोधिनी माध्यमिक विद्यालय प्रथम भएको छ । बुधबार गाउँपालिकाकोे आयोजनामा प्रदर्शनी भएको हो । इन्द्रसरोवर गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मान्द पन्तका अनुसार प्रदर्शनीमा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालय र एउटा प्राथमिक विद्यालय गरी ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।
पञ्चकन्या माध्यमिक विद्यालयमा भएको प्रदर्शनीमा विद्यार्थीहरुको १३ वटा समूह सहभागी भएको थियो । प्रत्येक विद्यालयबाट एउटा समूहमा १ जना शिक्षक र २ जना विद्यार्थीले भाग लिएका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान विषयतर्फ भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञानसँग सम्बन्धित सामग्रीहरु र गणित विषयतर्फ समुह, क्षेत्रमिति, ज्यामिति, अंकगणित, विजगणित क्षेत्रसँग सम्बन्धित सामग्रीहरु प्रदर्शन गरेको शिक्षा शाखा प्रमुख पन्तले जानकारी दिनुभयो ।
प्रदर्शनी गणित र विज्ञान दुवैतर्फ सरस्वती बालबोधिनी माध्यमिक विद्यालय प्रथम र पञ्चकन्या माध्यमिक विद्यालय दोस्रो भएको छ । त्यसैगरी विज्ञानतर्फ वात्सलादेवी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ भने गणिततर्फ कालिका माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रदर्शनी प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले ९ हजार र तृतीय हुनेले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
गाउँपालिकाले २ वर्षदेखि विज्ञान र गणित विषयको प्रदर्शनी निरन्तर आयोजना गर्दै आइरहेको छ । गणितीय धारणाको र वैज्ञानिक संस्कार विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीलाई प्रोत्साहन र वैज्ञानिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको शिक्षा शाखा प्रमुख पन्तले बताउनु भयो ।











