प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरु । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेशसभा बैठकमा सडक पूर्वाधार र विपद् व्यवस्थापनमा गम्भीर बन्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । उनीहरुले सडक पूर्वाधार जीर्ण र जोखिमपूर्ण रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनु पर्ने औँल्याएका हुन् ।

प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले जीर्ण र जोखिमपूर्ण सडक पूर्वाधार, कमजोर विपद् व्यवस्थापन र किसानले भोग्दै आएको रासायनिक मलको चरम अभावका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । सडक पूर्वाधारहरु अस्तव्यस्त भएका कारण नागरिकहरु सास्ती व्यहोर्न बाध्य रहेको उनीहरुले बताए । नागरिकहरु जीवन नै जोखिम राखेर यात्रा गर्नुपर्ने बाध्यतामा रहेकाले सरकारले उक्त अवस्था अन्त्य गर्न र सुरक्षित सडक निर्माणमा अग्रसर हुनु पर्ने उनीहरुको भनाई छ । उनीहरुले नागरिकहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएको भन्दै तत्काल परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन् । बैठकमा प्रदेशसभा सदस्यहरुले प्रदेशका अधिकांश सडकहरु जीर्ण, भत्किएका र पहिरोको उच्च जोखिममा रहेको बताएका छन् ।

‘प्रदेश सरकारले तयार गरेका प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको सडक पहिरोको उच्च जोखिममा छ । केही दिन अघि आएको पहिरोले बन्द भएका प्रदेश मार्गहरु अझै खुल्न सकेका छैनन्’, प्रदेशसभा सदस्यहरुले भने, ‘सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लामा हालै भएको वर्षाको कारण सडक पूर्वाधारमा ठुलो क्षति पुगिसकेको छ । त्यसको व्यवस्थापन र पुनःनिर्माणमा सरकारको ध्यान जान जरुरी छ ।’ प्रदेशसभा सदस्यहरुका अनुसार गत असोजको विपद्को क्षति समेत व्यवस्थापन गर्न सकिएको छैन । नागरिकहरुको समस्यामा सरकार गम्भीर बन्न जरुरी छ । प्रदेश राजधानीको ५ किलोमिटरको दुरीमा रहेको खहरेको समस्या हल गर्न नसकिएको प्रदेशसभा सदस्यहरुको गुनासो छ । सामान्य वर्षाले बाघझोराको भेलबाढीबाट नागरिकहरुले सास्ती व्यहोर्नु परेको अवस्था रहेकाले सरकारले त्यसको समाधान खोज्नु पर्नेमा उनीहरुले जोड दिए ।

विपद् व्यवस्थापनमा प्रदेश सरकारको तयारी र कार्यशैलीमाथि पनि प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका थिए । गत वर्ष असोजमा आएको बाढी–पहिरोले पु¥याएको क्षतिको व्यवस्थापन र पुनर्निर्माण अझै हुन नसकेको भन्दै उनीहरूले पीडित नागरिकको समस्याप्रति सरकार गम्भीर बन्न नसकेको गुनासो गरे । प्रदेशसभा सदस्यहरुले विपद् व्यवस्थापन सम्बन्धी कानुनी स्पष्टता सहित, बजेटको प्रभावकारी कार्यान्वयनमा अग्रसर हुनु पर्ने बताए । विपद् व्यवस्थापनमा स्थानीय तहसँग समन्वयको अभाव रहेकाले त्यसमा आवश्यक सुधार जरुरी रहेको उनीहरुले औँल्याए ।

कृषि कर्ममा रहेका कृषकहरुको समस्या हल गर्न नसकिएको उनीहरुले बताए । मलको अभावमा कृषकहरु समस्यामा छन् र पर्याप्त मात्रामा रसायनिक मल उपलब्ध गराउन नसक्दा कृषकहरु पलायन हुने अवस्थामा पुगेका उनीहरुको भनाई छ । समयमै मल नपाउँदा उत्पादन घट्ने र लागत बढ्ने दोहोरो मारमा किसानहरु रहेको उनीरुहले बताए । उक्त बैठकको शुन्य समयमा ९ जना प्रदेशसभा सदस्यहरुले धारणा राखेका थिए । बैठकमा शैलेन्द्रमान बज्राचार्य, उद्धव थापा, मातृका प्रसाद भट्टराई, उत्तम जोशी, भारती पाठक, रत्नप्रसाद ढकाल, सरल सहयात्री, युवराज चौलागाई लगायतले धारणा राखेका थिए ।

त्यसअघि प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनः गठन बारे प्रदेशसभामा जानकारी गराइएको थियो भने कार्यव्यवस्था परामर्श समितिको सदस्य मनोनित गरिएको थियो । उक्त बैठकमा प्रदेश मामिला समितिले तयार गरेको प्रदेश स्तरीय चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको थियो ।