हेटौंडा : साहित्यकार तुलसी थापाको स्मृतिमा साहित्य सङ्गम मकवानपुरले रचना वाचन कार्यक्रम आयोजना गरेको छ । शनिबार सङ्गमको ३५८ औँ नियमित साहित्य सन्ध्याको अवसर साहित्यकार थापाको सम्मान तथा सम्झनामा कार्यक्रम गरिएको हो ।
सहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी.बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार राजुराम राउत, राजकुमार चौधरी, डा. पियुश बराल, नवीन मगर, सानुभाइ विश्वकर्मा, देवराज खरेल लगायतका सर्जकहरुले आफ्ना रचना वाचन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि सङ्गमका सल्लाहकार निमेष निखिल, तुलसी घिमिरे, सुवास खनाल, कमल नेपाल, तुलसी थापाकी बहिनी वेलीमाया थापा लगायतका अतिथिहरुको उपस्थिति थियो ।
सङ्गमका सल्लाहकार सुवास खनालले तुलसी थापाको जिवन कथा र व्यक्तित्वका बारेमा जानकारी राख्नुभएको थियो । वि.सं. २००२ सालमा भिमफेदीको भैंसेमा जन्मनुभएका थापाको वि.सं. २०८० साल भाद्र ८ गते मृत्यु भएको हो । थापा साहित्यसँगै शिक्षण पेशामा पनि आवद्ध हुनुहुन्थ्यो । उहाँले कालिका माध्यमिक विद्यालय नामटार, श्री कृष्ण माध्यमिक विद्यालय भैंसे, जनकल्याण माध्यमिक विद्यालय पालुङ्ग र जिएस निकेतन माध्यमिक विद्यालय हेटौँडामा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
वि.सं. २०१९ सालमा राप्ती क्लब स्थापना गरी भैंसे क्षेत्रमा थापाले खेलकुद, साहित्यिक र सांगीतिक कार्यक्रमहरु पनि आयोजना गरेको खनालले स्मरण गर्नुभयो । त्यसैगरी प्रजा विकास कार्यक्रमका अधिकृत भई चेपाङ् जातिको विकास लागि थापाले महत्वपूर्ण भूमिका खेलेको पनि खनालले जानकारी दिनुभयो । प्रजा विकास कार्यक्रममा पु¥याएको योगदानको कदर गर्दै थापालाई वि.सं. २०४४ सालमा गोरखा दक्षिण बाहु चौथोबाट विभूषित समेत गरिएको थियो । थापा विशेषगरी दाना कविता लेख्नुहुन्थ्यो । तर कविताका साथसाथै थापाले विभिन्न कथा र नाटकहरु पनि लेख्नुभएको छ । उहाँले लेख्नुभएको कृतिहरु संग्रहित गरेर पुस्तक प्रकाशन गर्ने र उनको शालिक निर्माण गर्ने कार्य अन्तिम चरणमा रहेको सहित्य सङ्गम मकवानपुरका सल्लाहकार निमेष निखिलले बताउनु भयो ।









