मकवानपुरमा स्वास्थ्य बीमाको लोकप्रियता बढ्दै गएको छ । चार वर्ष पहिलादेखि सुरु भएको यो कार्यक्रम अहिले देशका सबै जिल्लामा लागु भएको छ । केही जिल्लाबाट सुरु गरिएको कार्यक्रम क्रमशः ७७ वटै जिल्लामा पुगेको छ । स्वास्थ्य बीमा कार्यक्रम सामान्य जस्तो लागे पनि कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निकै फलदायी छ । परिवारका ५ जना सदस्यहरुले ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउन सक्छन् । त्यसैले मध्यम तथा निम्न आर्थिक अवस्था भएका नागरिकहरु आकर्षित हुँदै गएका छन् । मकवानपुर जिल्लामा हालसम्म १ लाख १५ हजार २३ जनाले स्वास्थ्य बीमा गरेको पाइएको छ । गत एक आर्थिक वर्षमा मात्रै मकवानपुरमा १९ हजार परिवारले बीमा गर्नुले आकर्षण बढेको देखाउँछ ।

बीमा मार्फत नागरिकलाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्ने उद्देश्य निकै प्रशंसनीय भए पनि त्यसको व्यवस्थापनमा चुनौती देखिएको छ । विशेष गरी अस्पतालहरुमा बीमा गराएकाहरुले सेवा पाउन निकै कठिनाई व्यहोर्नु परेको छ । बीमा गरेका व्यक्तिले परीक्षणको अनुमतिका लागि अस्पतालहरु तोकिएका छन् । अनुमति पाउने अस्पतालको संख्या कम र बिमितहरुको संख्या धेरै हुँदै गएपछि उपचारमा कठिनाई हुन थालेको हो । हेटौंडा अस्पतालमा उपचारका लागि आउने मध्ये ४४ प्रतिशत भन्दा बढी स्वास्थ्य बीमाका विरामीहरु हुने गरेका छन् । सेवाग्राहीको संख्या बढी भएपछि सेवा प्रदान गर्न समस्या हुनु स्वभाविक हो । त्यस माथि पनि अनुमती पाएका निजी अस्पतालहरुमा बीमा गरेका विरामी र अन्य बीच विभेद हुने गरेको गुनासो पनि छ ।

बीमा कार्ड लिएर अस्पताल पुग्ने विरामीको परीक्षण गर्दा डाक्टरहरुले विशेष ध्यान नदिने र औषधि लेखिदिने मात्र काम गर्ने गरेको पाईन्छ भने तत्काल शुल्क बुझाउनेहरुको परीक्षण फरक तरिकाले गरिएको गुनासोलाई नियामक निकायहरुबाट ध्यान दिनु आवश्यक छ । आर्थिक अवस्था कमजोर भएरै बीमा गरेका हुन् । अनि उनीहरुलाई टिकट लिनेदेखि परीक्षण र औषधि खरिदमा समेत फरक व्यवहार हुनु मानवता विरोधी कर्म हुन् । त्यति मात्र होइन बीमा सूचिमा भएका औषधी समेत अस्पतालले सञ्चालन गरेको औषधी पसलमा नपाउने र खरिद गर्नुपर्ने बाध्यता छ । बीमा मार्फत एक लाख बराबरको औषधी उपचार पाउने आशमा स्वास्थ्य बीमा र नवीकरण गरिएको अवस्थामा औषधी खरिद गर्नु पर्दा बीमाको औचित्य माथि प्रश्न उठ्ने गरेको छ ।

बीमा गर्नेको संख्या बढ्दैमा कार्यक्रम सफल हुँदैन । नागरिकले सहज रुपमा सेवा पाउने वातावरण बनाउन आवश्यक छ । नागरिकको बढ्दो आकर्षण र संख्याअनुसार सेवा विस्तार र चुस्त बनाउन आवश्यक छ । तोकिएका मेडिकलमा औषधी नपाई खरिद नै गर्नुपर्ने र समयमै परीक्षण गर्न नपाई निजी अस्पतालमै पैसा बुझाउनु पर्ने अवस्था हो भने स्वास्थ्य बीमा कार्यक्रम किन चाहियो ? बीमाबाट फाईदा हुने आशमा सदस्य बन्ने वा नवीकरण गर्नेहरु निराश हुने अवस्थाको अन्त्य हुनै पर्दछ । राज्यले अस्पतालहरुलाई भुक्तानी समयमै दिनेदेखि अस्पताल व्यवस्थापनले पनि जनशक्ति र क्षमता विस्तार गर्दै सहज उपचारको वातावरण बनाउनु पर्दछ । तब मात्र स्वास्थ्य बीमा र यस प्रतिको आकर्षणको औचित्य पूरा हुने छ ।