हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक वर्ष २०७६\०७७ मा पर्यटन तर्फको २९ वटा योजनाहरु सम्पन्न भएको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पर्यटनतर्फ ४२ वटा योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गरेको थियो । जसमध्ये १३ वटा योजनाहरु सम्पन्न हुन नसकेका हुन् ।

हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक वर्षमा पर्यटनतर्फको प्रगतिमा भौतिकमा ७१ दशमलव ४३ प्रतिशत र वित्तीयतर्फ ५४ दशमलव ७८ प्रतिशत प्रगति भएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी रामकृष्ण थापाले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाले गत वर्ष पर्यटनतर्फ ४ करोड ४१ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिकाले यस वर्ष भने पर्यटनको क्षेत्रमा जम्मा ८० लाख रुपैया बजेट विनियोजन गरेको छ । कोरोना कहरको कारण यस वर्ष पर्यटनतर्फ थोरै बजेट राखिएको हेटौंडा उपमहहानगरपालिकाका सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले गत वर्ष हेटौंडा–१८ मा रहेको गुम्बाडाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरेको थियो । गुम्बाडाडा पर्यटकीय क्षेत्र पूर्वाधार विभिन्न संरचनाहरु निर्माण गरेर कार्यक्रम सम्पन्न भएको सूचना अधिकारी थापाले बताउनुभयो । त्यस्तै वडा नम्बर १३ मा शंखपार्क चुरेग्रीन भ्युटावरको जग निर्माणका लागि १९ लाख रुपैया विनियोजन भएको र जग निर्माण कार्य सम्पन्न भएको उहाले बताउनुभयो । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा अन्य विभिन्न ठाउ र मन्दिरका संरचनाहरु पनि निर्माण गरेको छ । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षको विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसरमा सामाजिक संघ संस्थाहरु र निजि क्षेत्रहरुसगको सहकार्यमा उपमहानगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको सरसफाई गरेको जानकारी दिइएको छ ।

त्यस्तै उपमहानगरपालिकाको विभिन्न पर्यटकीय गन्तव्यहरु भुटनदेवी मन्दिर, सहिद स्मारक, कुष्माण्ड सरोवर, चुरियामाई, जुरेथुम, मूर्ति बगैंचा, राजदेवी सालक पार्क र लक्ष्मीनारायण मन्दिरमा निर्मित शिशमहलको स्थलगत अवलोकन गरेको छ । गत आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पहिचान, संरक्षण, विकास र प्रचारप्रसार गर्नुका साथै पर्यटन प्रबद्र्धन कार्यमा सहयोग पुर्‍याएर ग्रामीण समुदायको आयआर्जन बृद्धिमा पनि जोड दिइएको हेटौंडा उपमहानगरपालिकाको उद्योग, पर्यटन, स्वरोजगार तथा सहकारी प्रवद्र्धन शाखाका प्रमुख समेत रहेका सूचना अधिकारी रामकृष्ण थापाले जानकारी दिनुभयो ।