हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा निकेतन माविले कक्षा–८, ९ र १० विशेष अभिभावक शिक्षा एवम् शैक्षिक अन्तरक्रियाको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजेश घिमिरेको प्रमुख आतिथ्यमा सोमबार बिहान सम्पन्न अन्तरक्रियामा करिब २०० जना अभिभावकको उपस्थिति रहेको थियो ।
नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै आयोजना गरिएको अभिभावक शिक्षा कार्यक्रममा अर्पण पराजुलीले सहजीकरण गर्नुभएको थियो । बालबालिकाको चौतर्फी विकासका लागि अभिभावकले बालबालिकालाई नजिकबाट बुझ्नुपर्ने र पर्याप्त समय दिनुपर्ने विषयमा जोड दिइएको थियो । अन्तरक्रियामा अभिभावकले विद्यालयका सवल पक्षबारे प्रशंसा गर्दै अझै राम्रो गर्नका लागि रचनात्मक सुझावहरू दिएका थिए ।
विद्यालयको नियमित मासिक अभिभावक अन्तरक्रिया कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८२ को पहिलो तहगत अन्तरक्रिया आयोजना गरिएको र आगामी दिनमा नियमित रूपमा अभिभावक अन्तरक्रिया आयोजना गर्दै जाने बताइएको छ ।










