सम्झना अधिकारी

विद्यालयमा परीक्षा चल्दै थियो । तीन घण्टाको समयमा पूरा गर्नुपर्ने उत्तरलाई केही विद्यार्थीहरुले एक घण्टा पनि नबित्दै मेरो उत्तर लेखेर सकियो अब म बाहिर जान मिल्छ ? भनेर सोध्न थाले । मैले अहिले मिल्दैन पूरा समय बसेर पुरै प्रश्नको उत्तर लेखेपछि मात्र जान पाइन्छ भनेपछि बाँकी विद्यार्थीहरु पनि शान्त भएर उत्तर लेख्न लागे । एक घन्टाको जनाऊ घण्टी लागेपछि अरु कक्षाबाट फाट्टफुट्ट विद्यार्थीहरू बाहिर निस्किन थालेको देखेपछि अरु कक्षाबाट त गइसके अब त जान मिल्छ होला नि भन्न लागे। त्यसपछि लेखेर सकियो भन्ने विद्यार्थीहरूलाई पालैपालो बोलाएर उनीहरूको प्रश्नपत्रसँग उत्तरपुस्तिका रुजु गर्दै हेर्न थालेँ ।

हेर्दै जाँदा थाहा भयो कि उत्तर नलेखेपनि सबैप्रश्न सारेपछि त जान पाईन्छ होला भनेर प्रश्नचाहिँ पुरै सारेछन् तर उत्तर भने एउटा दुईवटाको मात्र लेखेको पाईयो । अरु प्रश्नको उत्तर खोई त भन्ने प्रश्नमा उनीहरुले आउने जति त सबै लेखेँ अरु आउँदैन भनेपछि पुनः केहीबेर प्रयास गर्न लगाएँ । परीक्षा समय पछि आफूलाई बाहिर भेट्ने सर्तमा पालैपालो गरी पठाएँ । परीक्षा चल्दै थियो । केही विद्यार्थीहरु लेखिरहेका, केही सोचिरहेका र केही भने पेनलाई खेलौना जस्तै खेलाइरहेको देखिन्थ्यो । आफूले शिक्षाक्षेत्रमै काम गरेको दुई दशक पूरा भइसकेको थियो । हरेक बर्ष बालबालिकाहरुमा देखिएको सिकाइप्रतिको बढ्दो निराशालाई कसरी कम गर्न सकिएला भनेर आफ्नो तर्फबाट हरसम्भव प्रयास नगरेको पनि होइन तर सिकाईप्रति बालबालिकाको नैराश्यता झन् झन् बढेको देखेर उनीहरू भन्दा पनि हामी पो सुध्रिनू पर्ने हो कि जस्तो भान हुन्थ्यो । तर के गर्नु परम्परागत पाठ्यक्रमलाई पुरानै शैलीमा मात्र सिकाउनु पर्ने बाध्यतामा रहेका हामीलाई स्पष्ट थाहा छ कि सिकाइका लागि बालबालिकाको पारिवारिक, सामाजिक तथा साँस्कृतिक वातावरण र आर्थिक पक्ष पनि उत्तिकै जिम्मेवार हुने गर्दछ ।

सिकाइका लागि पारिवारिक वातावरण सबैभन्दा बढी जिम्मेवार मानिन्छ । तर आज सानो परिवारको नाममा होस वा बुबाआमाको वैदेशिक रोजगारीको बाध्यताले हाम्रा बालबालिकाहरु निकै एक्लो हुने गरेका छन् । उनीहरुलाई समय दिने त कता हो कता उनीहरूको कुरा सुनिदिने फुर्सद पनि छैन हामीसँग । बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पढपढ मात्र भनिरहने हामी उनीहरूको मनोविज्ञान र पढाइको वास्तविक सिकाई उपलब्धि कस्तो छ भन्ने थाहा पाउन परीक्षा नै कुर्नुपर्छ । बिगतमा संयुक्त परिवारमा रहँदा बुबाआमा व्यस्त भए पनि परिवारका अन्य सदस्यले उनीहरूको हरेक क्रियाकलाहरूमा चासो राखिरहेका हुन्थे । उनीहरुको पढाई, लेखाई, खेलकुददेखि अन्य हरेक क्रियाकलापमा समेत परिवारका दाजुभाइ तथा दिदी बहिनीको साथ र साथीसंगत समेतको पुरै जानकारी परिवारलाई हुन्थ्यो । तर आज हामीले हाम्रा बालबालिकालाई राम्रो शिक्षा दिने नाममा होस् वा अन्य बहानामा आफुभन्दा टाढा राख्दा उनीहरू सानै उमेरमा अभिभावकको माया, हेरचाहबाट बिमुख हुने, मोबाइल फोनको अत्याधिक प्रयोग तथा गलत प्रयोग र साथिभाइको संगतले कुलतमा फस्न सक्ने सम्भावना बढ्दै गएको छ । जसको असर स्वरूप आजका बालालिकामा सामाजिक संस्कार सिक्ने त परै जाओस् स–सानो कुरामा पनि रिसाउने र झर्कने स्वभाव निकै बढेको पाइन्छ ।

यसरी सोच्दा सोच्दै समय पूरा भएको जनाऊ घण्टी बज्यो । बाँकी केही विद्यार्थीहरुले उत्तर कपि बुझाएपछि सुरुमा बाहिर गएका बालबालिकाहरुलाई चौरमा खोज्न थालेँ । उनीहरू पनि मलाई देखेर मेरो नजिक आउँदै गरेका रहेछन् । सुरुमा हामी चौरको सानो घेरामा बसेर रमाइला कुरा गर्दै बिस्तारै मैले जिज्ञासा राख्दै उनीहरूको पारिवारिक पृष्ठभूमिमा पुगेपछि थाहा भयो कि उनीहरू मध्ये केहिको आमाबुबाको सम्बन्धविच्छेद भएपछि कोहि आफन्तसँग त कोहि सानीआमा र बुबासँग डेरामा बस्दै आएका रहेछन् । त्यसैगरी कसैको आमा वैदेशिक रोजगारीमा गएका रहेछन् भने केही बालबालिकाहरु घर टाढा भएकोले कोठा लिएर यतै बसेका रहेछन् । उनीहरुमध्य केहीलाई घरबाट समय समयमा पैसा र सामान आउँदो रहेछ तर अभिभावकहरुको उपस्थिति भने अन्तिम परीक्षाको नतिजामा मात्र हुने गरेको रहेछ । यसरी उनिहरुबाट थाहा भयो कि अरु कक्षामा पनि यस्ता बालबालिका धेरै छन् । मैले थाहा पाएँ कि यिनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । हरेक सामुदायिक विद्यालयमा आज यी र यस्ता बालबालिकाको बाहुल्यता निकै बढ्दै गएको पाइन्छ । हामी सबैलाई थाहा छ सिकाई हुनका लागि सिकाई वातावरणको ठूलो भूमिका रहन्छ जुन विद्यालयबाट मात्रै सम्भव रहँदैन ।

यसरी अभिभावकबाट टाढा रहेका बालबालिकालहरु मध्ये धेरैजसो अन्य कुरामा चलाख भएको पाईए पनि पढाइमा भने निकै कम चासो दिने गरेको पाइन्छ । हरेक दिन अभिभावकको साथमा रहेर सस्कारसँगै शिक्षा लिनुपर्नेमा शिक्षाको नाममा उनीहरुलाई बोकाइएको त्यो गरुङ्गो भारलाई उनीहरुले बोझको रुपमा लिने गरेका छन् । यी र यस्ता विविध समस्याले बालबालिकाहरु अन्तिम परीक्षामा समेत तयारी बिना नै सहभागी हुन् थालेका छन् । तर राज्यले भने दोष जति सबै शिक्षकलाई मात्रै दिएर आफु पानी माथिको ओभानो बनेको छ । यसरी बालबालिकाको सिकाई उपलब्धि न्यून हुनुमा दोषी शिक्षकको मात्रै हो त ? बालबालिकाको सिकाई वातावरण निर्माणमा राज्य र समुदायको कुनै भूमिका रहँदैन ? यी र यस्ता धेरै प्रश्नहरूको उत्तर नखोजी विद्यालय शिक्षामा बालबालिकाको रुचि बढाई शिक्षालाई व्यवहारिक र जिवन उपयोगी बनाउन सकिदैन ।

केहि दिन अगाडि मात्र देशकै प्रधानमन्त्रीले समेत शैक्षिक उपलब्धि न्यून हुनुको पुरै दोष शिक्षकलाई दिनुभयो । शिक्षामा चाहे अनुसार सकारात्मक परिवर्तन ल्याई विद्यार्थीहरुलाई उचित शिक्षा दिनेदेखि सही र गलत छुट्याएर कारवाही गर्न सक्ने हैसियत राख्ने देशकै अभिभावकको समेत शिक्षकप्रति यस्तो नकारात्मक सोचाइ छ भने सामान्य नागरिकबाट हामीले कसरी सकारात्मक अपेक्षा गर्न सकिएला ? जसरी एउटा बिरुवा रोपेर मात्रै हुँदैन त्यो बिरुवालाई उचित स्याहार नहुँदा राम्रोसँग सप्रँदैन । त्यसैगरी बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि उचित स्याहार सुसार र पारिवारिक वातावरण पनि राम्रो हुनुपर्छ भन्नेकुरा हाम्रो सामाजले नबुझेकै हो त ?

(अधिकारी हेटौँडा–२ स्थित सिद्धार्थ माविकी शिक्षक हुनुहुन्छ ।)