उज्यालो नेपालका अभियन्ता मानिएका कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको छ । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट चैत ११ गते कुलमान घिसिङको कार्यसम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय गरेको थियो । कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ । २ पटक विद्युत् प्राधिकरणको नेतृत्व लिएर लोडसेडिङ अन्त्य गर्दै घाटामा रहको प्राधिकरणलाई निरन्तर नाफामा सञ्चालन गरेका कुलमानलाई सरकारले बर्खास्ती गरेपछि त्यसको ब्यापक बिरोध भइरहेको छ । सामाजिक सञ्जालमा मात्र नभएर देशका विभिन्न ठाउँमा स्वस्फूर्त कुलमान बर्खास्तीको बिरोधमा प्रदर्शनहरु भएका छन् । आम नेपाली नागरिकको विश्वास जितेर वाहवाही पाइरहेका कुलमानलाई वर्तमान सरकारले हटाएपछि सरकार र विभागीय मन्त्रीको बिरोध हुनु स्वभाविक हो ।

सरकारले कुलमानलाई हटाएको बिरोधमा मंगलबार साँझ हेटौंडामा पनि प्रदर्शन भएको छ । योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको आयोजनामा युवा तथा कुलमानका समर्थकले हातमा टुकी बालेर जुलुस निकालेका हुन् । टुकी बाल्दै सीमाचोकबाट सुरु भएको जुलुसले बुद्धचोक, उद्योग वाणिज्य संघ चोक, कान्तिराजपथ, खोपे गल्ली हुँदै सीमाचोक पुगेर कोणसभामा परिणत भएको थियो । जनविरोधी सरकार मुर्दावाद, नलायक ऊर्जामन्त्री राजीनामा दे, गणतन्त्र जिन्दावाद, दलहरु होसियार, कुलमान हटाउने निर्णय फिर्ता गर, विद्युुत् माफियाको चलखेल बन्द गरजस्ता नारा प्रदर्शनकारीले लगाएका थिए । जुलुसले हेटौंडा बजार परिक्रमा गर्ने क्रममा सहभागीले सरकार विरोधी नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

देशमा दैनिक १६ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा २०७३ भदौमा कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । त्यसबेला विद्युत् प्राधिकरणको प्रणालीमा रहेकै विद्युत्लाई व्यवस्थापन गरेर २०७३ कै तिहारबाट काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएपछि एकाएक कुलमानको चर्चा चुलियो । २०७३ चैतदेखि देशव्यापीरुपमा लोडसेडिङ अन्त्य गर्न सफल भएपछि कुलमान सबै नेपालीको मनमनमा बस्न सफल भए । उनले नेतृत्व लिँदा करिब ३५ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरणलाई एक वर्षमै नाफामा लगे । २०७८ साउनमा उनलाई पुनः ४ वर्षका लागि सोही पदमा नियुक्त गरियो । करिब ८ वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका उनले विद्युत् प्राधिकरणलाई ८४ अर्बभन्दा बढी सञ्चित नाफाको अवस्थामा पु¥याएका छन् । २६ प्रतिशतको विद्युत् चुहावटलाई उनले १२ प्रतिशतभन्दा कममा झारेका छन् । विद्युत् उत्पादन, प्रसारण लाइन निर्माण, वितरण प्रणाली सुधारमा प्राधिकरणले एक खर्बभन्दा बढी लगानी गरेको छ । भारतसँगको विद्युत् आयात–निर्यातलाई सहज बनाएर वर्षा याममा बढी भएको विद्युत् बिक्री गरेर वार्षिक १६ अर्ब रुपैयाँसम्म आम्दानी हुने अवस्था बनेको छ ।

विद्युत् प्राधिकरणको संस्थागत विकाससँगै विद्युत् प्रणालीमा सुधार गर्दै गएका कुलमान र व्यापारीको पक्षपोषणमा उत्रिएका ऊर्जामन्त्री दीपक खड्काबिच पछिल्लो समय टकरावको स्थिति बनिरहेको थियो । ठूला व्यवसायीले तिर्न बाँकी डेडिकेटड र ट्रंक लाइनको विद्युत् महसुल उठाउने विषयमा प्राधिकरणलाई मन्त्रीले असहयोग गरेपछि मन्त्री र कुलमानको सम्बन्ध बिग्रियो । कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य अंक दिइयो । सत्तारुढ दलहरुकै कतिपय मन्त्री र नेताको विरोधबिच सरकारले कुलमानलाई हटायो । आगामी साउनमा पदावधि सकिने भएपनि उदाहरणीय काम गरेका उनलाई हटाउन सरकारले हतारो गरेकोमा धेरैको असन्तुष्टि छ । आफूले नियुक्त गरेको कर्मचारी हटाउने अधिकार सरकारसँग भए पनि जनताले अत्यधिक रुचाएकालाई हटाउनु उचित मान्न सकिँदैन । जनताप्रति उत्तरदायी भन्ने गरिएको लोकतान्त्रिक सरकारले जनमतको कदर नगरी स्वेच्छाचारी बन्नुले कुलमानलाई हटाउँदा बिरोध भएको हो ।

ReplyForwardAdd reaction