कार्यक्रममा बोल्नुहुँदै जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल ।

हेटौंडा : नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले एमालेलाई एमाले बनाउन जनसंगठन खोल्नुपर्ने बताउनु भएको छ । मंगलबार जनसंगठन समन्वय संयन्त्र हेटौंडाले आयोजना गरेको जनतासँग जनसंगठन (जरा) अभियान शुभारम्भ कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

प्रत्येक मुद्दालाई समेट्ने गरी संगठन बनाउनु पर्ने र एक पटक संगठनमा सदस्य भएपश्चात् संगठनको कामको कारण एमाले छाड्न मन नलाग्ने वातावरण सृजना गनुपर्ने उहाँले बताउनुभयो । ‘पार्टी भनेको सूर्य र जनसंगठन भनेको चन्द्रमा हो’, संयन्त्र प्रमुख ढकालले भन्नुभयो– ‘सूर्यको उज्यालो टल्केर नै चन्द्रमा रातमा उज्याले भएजस्तै पार्टीको कारण जनसंगठन प्रभावकारी हुनुपर्छ ।’ संगठनले गरेको राम्रो र नराम्रो कामको पार्टीमा प्रत्यक्ष प्रभाव पर्ने उहाँले बताउनुभयो ।

‘मिसन ८४ भन्दै गर्दा हामीलाई मात्र मिसन ८४ लागेको छैन, एमालेलाई हराउनेहरुको लागि पनि मिसन ८४ लागेको छ’, ढकालले भन्नुभयो– ‘अहिलेदेखि नै एमालेलाई बद्नाम गरेर मुल नेतृत्वलाई कमजोर बनाएमात्र ८४ मा एमालेलाई रोक्न सकिने भनेर विपक्षी लागिपरेको छ ।’ पार्टीको सदस्य साढे पाँच लाख भएको एमाले २८ लाख भोट पाएको भन्दै उहाँले जनस्तरको मानिसले पनि भोट हालेको बताउनुभयो । कतिपय पालिका, वडामा पार्टीको सदस्यभन्दा पनि कम मत आएकाले चिन्ता बढाएको उहाँको भनाइ छ ।

पार्टी नगर अध्यक्ष बोलबहादुर कार्कीको सभाध्यक्ष तथा स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो । नगरभित्र भएको १७ वटा संगठनलाई झण्डा वितरण गरेर जनतासँग जनसंगठन अभियान शुभारम्भ गरिएको छ ।

कार्यक्रममा पार्टीको जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेलले जनसंगठन कमिटीका पादाधिकारीहरु अत्यन्त न्यून उपस्थित भएको बताउनुभयो । जनसंगठन पदाधिकारीहरु बाहिर आउनुपर्ने र टोलटोलमा जनसंगठन निर्माण हुनुपर्ने बताउनुभयो । पार्टीको उद्देश्यअनुरुप काम हुनुपर्ने र जनतालाई नेकपा एमालेप्रति आकर्षित गर्नुपर्ने उहाँले बताउनुभयो । हिजो १३ हजार पार्टी सदस्य भए पनि अहिले ९ हजारमा सिमित भएकाले सदस्य विस्तार र सदस्यता नवीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

पार्टीको जरा अभियान चैत मसान्तसम्म सञ्चालन हुनेछ । अभियानमा ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा, अपाङ्ग, जनजाति, मुस्लिम र आदिवासीलाई समेट्ने योजना रहेको छ ।