हेटौंडा : हेटौंडा–४ स्थित हुप्रचौरमा भएको नेत्रहीन महिला क्रिकेट टिम छनोट प्रतियोगिता सम्पन्न भएको छ । नेत्रहिन क्रिकेट संघ तथा राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा कान्तियोगीलाई ९ विकेटले हराउँदै दिल्लीसराले उपाधि जितेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कान्तियोगीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । कान्तियोगीको तर्फबाट कान्तियोगी चौधरीले २९ रन बनाएकी थिइन् । सुनिता भुजेलले २७ रन, माया लुङ्गेलीले २२ रन र एञ्जिला ढकालले १४ रन बनाएकी थिइन् । दिल्लीसराबाट सुजिता थापा र हरिकला रोक्काले समान २÷२ विकेट लिएकी थिइन् ।
१ सय ५६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीसराले १५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । दिल्लीसराकी सुस्मा तामाङले ९० रन र हरिकला रोक्काले ४१ रन बनाएकी थिइन् । कान्तियोगीबाट झक्क भण्डारीले १ विकेटमात्र लिएकी थिइन् ।
प्रतियोगिताको विजेता र उपविजेता बनेको टिमले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज विजेता टिमको सुस्मा तामाङ घोषित भएकी छिन् । उनले ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेकी छिन् । तामाङ पूर्ण नेत्रहीन खेलाडी हुन् ।
नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेको सभाध्यक्ष तथा समाजिक विकास मन्त्रालयका सचिव बद्रीप्रसाद गैह्रेको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा ७ वटा प्रदेशबाट ३ टिम सहभागी भएको नेपाल अपाङ्ग राष्ट्रिय महासंघका अध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी नोभेम्बर महिनामा हुने महिला नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम छनोट गर्न प्रतियोगिताको आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।