हेटौंडा : हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान विषय अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । गत फागुन ४ गतेबाट सुरु भएको विज्ञान प्रवद्र्धन अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम एक सातासम्म सञ्चालन भएर सम्पन्न भएको हो ।
सोमबार एक समारोहबीच खेलकुद प्रतियोगिताका विजेतालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । वक्तृत्वकला, वादविवाद, क्रिकेट, फुटबल, भलिबल, हाजिरीजवाफ प्रतियोगितामा विजेता बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको कक्षा–११, १२ का संयोजक तथा विद्यालयका खेलकुद शिक्षक राजाराम पोखरेलले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगितामा कक्षा–११ र १२ का २ सय ५० जना विद्यार्थीको सहभागिता थियो ।
विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण समारोहमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौला, हेटौंडा स्कूल अफ म्यानेज मेन्ट एण्ड सोसियल साइन्सका सहायक प्रिन्सिपल रामपण्डित खनाललगायतको उपस्थिति रहेको थियो ।