बागमती प्रदेश सरकारले पछिल्लो ७ वर्षमा धेरै कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको थोरै योजना र कार्यक्रममात्र सफल भएका छन् । प्रदेश सरकारको सफल कार्यक्रममध्ये एक हो, विद्यालय नर्स । २०७५ सालबाट प्रदेश सरकारले ‘एक विद्यालयः एक नर्स’ कार्यक्रमको रुपमा सामुदायिक माध्यमिक विद्यालयमा स्टाफ नर्स खटाउन सुरु गरेको थियो । विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक सबै पक्ष प्रत्यक्षरुपमा लाभान्वित बनिरहेको यो कार्यक्रमलाई प्रदेश सरकारले विस्तार गर्दै लगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा र स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्न निकै प्रभावकारी बनेको विद्यालय नर्सले विद्यालय समयमा विद्यार्थी अचानक बिरामी हुँदासमेत हेरचाह र प्राथमिक उपचारमा निकै सहज भइरहेको छ ।
पहिलो वर्ष प्रदेशका १३ जिल्लाका २० वटा विद्यालय छनोट गरी नमुनाको रुपमा सुरु भएको विद्यालय नर्स कार्यक्रम दोस्रो वर्ष थप १०१ विद्यालयमा विस्तार गरिएको थियो । प्रदेश सरकारले करार सेवामा नर्स नियुक्त गरी विद्यालयहरुमा खटाउने गरेको छ । प्रत्येक वर्ष यो कार्यक्रम विस्तार हुँदै अहिले ८४८ विद्यालयमा नर्स खटाइएको छ । प्रदेशमा एक हजार ३६२ सामुदायिक मावि छन् । रसुवाका १९ वटा माविमध्ये १८ वटामा विद्यालय नर्सको व्यवस्था गरिएको छ । काठमाडौंको १७९ मध्ये १०८, ललितपुरको ७८ मध्ये ४५ र भक्तपुरको ४५ मध्ये ३५ विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । चितवनको १०८ मध्ये ७६ र मकवानपुरका एक सयमध्ये ६२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरु भएको छ । धादिङको १३६ मध्ये ७९, नुवाकोटको १२२ मध्ये ७६, सिन्धुपाल्चोकको १३५ मध्ये ७६ र काभ्रेपलाञ्चोकको १४६ मध्ये ८२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम चलिरहेको छ । दोलखाको ८४ मध्ये ६१, रामेछापको ८८ मध्ये ५१ र सिन्धुलीको १२२ मध्ये ८० विद्यालयमा नर्सको सुविधा रहेको छ । प्रदेशका ६२ प्रतिशत माविमा विद्यालय नर्सको सुविधा पुगेको छ ।
हालसम्म माध्यमिक विद्यालयमा मात्र लागू गरिएको यो कार्यक्रमबाट लाखौं विद्यार्थी लाभान्वित भइरहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थी घाइते हुँदा वा अपर्झट कुनै स्वास्थ्य समस्या आउँदा अलमलमा पर्ने गरेका शिक्षकलाई यो कार्यक्रमले थप सहज बनाएको छ । विद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिसँगै प्राथमिक उपचारका सामग्री र औषधिसहित नर्सको व्यवस्थाले स्वास्थ्य समस्याको तत्कालीन समाधानका साथै स्वास्थ्य, पोषण र सरसफाइसम्बन्धी सचेतना बढाउनसमेत सहयोग पुगिरहेको छ । विद्यालयमै नर्सको व्यवस्थाले महिनाबारीको समयमा विद्यालयमा छात्राहरुको अनुपस्थिति दरलाई घटाएको छ । सामान्य बिसन्चो हुँदासमेत विद्यार्थी घर जाने अवस्था न्यूनीकरण भएको छ । विद्यार्थीको स्वस्थता प्रवद्र्धन, पोषणयुक्त खाना, नियमितता र पढाइ छाड्न नपर्दा विद्यार्थीको पठनपाठनमा समेत सुधार भएको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समेत सहयोग पुगेको पाइन्छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरेर आवश्यक छनोट प्रक्रिया पूरा गरी करारमा स्टाफ नर्स नियुक्त गर्दै आएको छ । मन्त्रालयमार्फत् नै तलब सुविधा उपलब्ध गराउने गरी नियुक्त गरिएका नर्सलाई विद्यालयमा खटाइन्छ । विद्यालयमा नर्सको व्यवस्था भएपछि वातावरण प्रदूषण, कमजोर खानपान, अस्वस्थ पिउने पानी, व्यक्तिगत सरसफाईमा बेवास्ताजस्ता कारणले विद्यार्थी बिरामी हुने समस्या न्यूनीकरण भएको छ । दैनिकरुपमा विद्यालयमा खेल्दा, उफ्रिँदा, दौडिँदा, प्रयोगात्मक कार्यहरु गर्दा विद्यार्थीलाई चोटपटक लागेको अवस्थामा सामान्य उपचार सहज बनेको छ । निकै प्रभावकारी र सफल बनिरहेको विद्यालय नर्सको व्यवस्था प्रदेशका बाँकी माध्यमिक विद्यालयमा समेत चाँडै हुनुपर्छ । विभिन्न जिल्लामा रिक्त रहेको ७८ जना नर्सको दरबन्दीमा नर्सको व्यवस्था गर्नसमेत मन्त्रालयले तदारुकता देखाउनु आवश्यक छ ।