हेटौडा : गण्डकी समाज मकवानपुरको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार समाजले वनभोज कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सव सम्पन्न गरेको समाजका महासचिव गोपीराम बन्जाराले जानकारी दिनुभयो ।
समाजले आफ्नो वार्षिक उत्सवको अवसरमा समाजमा उत्कृष्ट योगदान पुर्याउने दुई जना र जेष्ठ नागरिक दुई जनालाई सम्मान गरेको छ । समाजले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह राना भाट र बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेमबहादुर क्षेत्रीलाई प्रमाणपत्रसहित सम्मान गरेको छ । यस्तै, जेष्ठ नागरिकहरुमा हेटौंडा–५ का कलाधर तिमल्सिना र डिलबहादुर गुरुङलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको महासचिव बन्जाराले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी समाजका अध्यक्ष बुद्धिबहादुर ढकालको सभाध्यक्षता तथा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव विनोद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रहरी नायब निरीक्षक श्यामु अर्याल, कर अधिकृत कमल अर्याल, डिडिसीका प्रमुख अन्जना अधिकारी, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायतको आतिथ्य रहेको थियो । समाजमा अहिले एक हजार २ सय जना सदस्य रहनुभएको छ भने ५० जना आजीवन सदस्य रहनुभएको छ ।










