हेटौंडाः संघीय सरकारको योजना बमोजिम नै अघि बढ्ने गरी बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले आउँदो भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान संचालन गर्ने भएको छ । कोरोना महामारीको कारणले गर्दा शिक्षा क्षेत्र ठप्प भएको अवस्थामा छ । निर्देशनालयले शिक्षण सिकाई सहजताका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि घरमै अभिभावकहरुले सिकाउन सक्ने किसिमको पठनपाठन सामाग्री वितरण गरेको बागमती प्रदेश शिक्षा विकास निर्देशनालयलका सूचना अधिकारी रुद्रहरी भण्डारीले बताउनुभयो ।
लकडाउनको समयमा अनलाइनबाट भर्ना गरेका र घर–घरमा गई पाठ्यपुस्तक वितरण गरिएका विद्यार्थीहरुलाई अब विद्यालयमा ल्याई भर्ना गराउनु पर्ने उहाँको भनाइ छ । बागमती प्रदेशमा ५ लाख १० हजार १० सामुदायिक विद्यालय र १ हजार ९ सय ७१ संस्थागत विद्यालय रहेका छन् । बागमती प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने अभियान रहेपनि हाल कुल जनसंख्याको ३ प्रतिशत १ देखि ८ सम्म पढ्नुपर्ने बालबालिका अझै पनि शिक्षाबाट बञ्चित रहेका छन् । निर्देशनालयले आगामी आर्थिक वर्षसम्म बागमती प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने निर्देशक भण्डारीले जानकारी दिनुभयो । करिब पाँच सय विद्यार्थीलाई लक्षित गरी छोरीबुहारी छात्रवृत्तिलाई निरन्तरता दिने गरी बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले चालु आर्थिक वर्षको कार्ययोजना निर्माण गरेको छ । बागमती प्रदेशमा निजी र सामुदायिक विद्यालयमा गरी १४ लाख ३३ हजार २३ विद्यार्थी अध्ययनरत रहेका छन् ।
यसैगरी ५० वटा सामुदायिक विद्यालयमा विषयगत प्रयोगशाला निर्माणका लागि १२ लाखको दरले अनुदान दिने, ५० वटा विद्यालयलाई आइसिटि ल्याब निर्माणका लागि १५ लाखको दरले अनुदान दिने, २० वटा नमूना विद्यालयमा निर्माण भएको गुरुयोजना कार्यान्वयनका लागि १ करोड अनुदान दिने र बागमती प्रदेश अन्तर्गतका सामुदायिक क्याम्पसहरुलाई आइसिटि ल्याब, स्मार्ट बोर्ड, इ–लाइब्रेरी निर्माणका लागि तथा सूचना प्रविधिमैत्रि बनाउन अनुदान दिने योजना कार्यतालिका बनाएको बागमति प्रदेश शिक्षा विकास निर्देशनालयलका सूचना अधिकारी रुद्रहरी भण्डारीले जानकारी दिनुभयो ।