हेटौंडाः शनिबार मकवानपुरका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४७ र ६० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित मध्ये हेटौंडा–३ बसामाडीका एक र मनहरी गाउँपालिकाका एकजना रहेका छन् ।
कोरोना संक्रमित पुष्टि भएका हेटौंडा–३, बसामाडीका व्यक्ति होम क्वारेन्टाइनमा रहेका थिए । उनी बैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा ८ वर्ष सेवा गरी साउन ३ गते शनिबार नेपाल फर्किएका हुन् । हिमालय एयरलाइन्सको हवाईजहाज मार्फत नेपाल प्रवेश गरेका उनको साथमा थप ३ जना मकवानपुरगढी गाउँपालिकाका व्यक्ति समेत आएका थिए । संक्रमित दुबैजनालाई हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा ल्याइएको छ ।
यसैबीच कोरोना भाइरस संक्रमणमुक्त भएका ४ जना शनिबार हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट डिस्चार्ज भएका छन् । हेटौंडा–५ का २१ वार्षीय एक दम्पत्ति र वडा नम्बर १४ का २६ वर्षीय एक दम्पत्तिको दोस्रो पटक कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो ।