हेटौँडा : साविक विजेता मछिन्द्र क्लब बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेल जित्दै सातौं ‘ए’ डिभिजन क्लब मछिन्द्र संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सर्लाही जिल्लाको बागमती युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टी मार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेका हुन् । म्यान अफ द म्याच मछिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्रले सिधै क्वाटरफाइनल खेलेको हो । मछिन्द्र गत संस्करणको विजेता टोली हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो । फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।