फाइल तस्विर

हेटौंडाः मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ सम्ममा कुल ५ हजार १ सय ८७ भूमिहिन लाभग्राहिको घर निर्माण गर्ने स्वीकृति भएको थियो । जसम्मध्ये भूकम्पछिको निजी आवास पुनर्निर्माण गर्न ४ हजार ८ सय ३५ जनाले सम्झौता गरेर पहिलो किस्ता वापत ५० हजार रुपैयाँ बुझेका छन् । पहिलो किस्ता लिएका मध्ये १ हजार १ सय ५ घर निर्माण गर्ने व्यक्तिले दोस्रो किस्ता वापत १ लाख ५० हजार रुपैयाँ बुझिसकेका छन् भने ३ सय ३६ घरका लाभग्राहीहरुले तेस्रो किस्ता वापत १ लाख रुपैयाँँ पनि लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमल किशोर केपिले बताउनुभयो । उहाँका अनुसार मकवानपुरका बागमती गाउँपालिका, मनहरी गाउँपालिकामा भूमिहिन लाभग्राही धेरै रहेका थिए ।

यस्तै मकवानपुर जिल्लामा निजी आवास पुनर्निर्माणतर्फ कुल ३४ हजार ६ सय ६७ लाभग्राही रहेकोमा ३० हजार ९ सय ८४ लाभग्राही अर्थात ९० प्रतिशत लाभग्राहीले घर निर्माण गर्न सम्झौता गरेका छन् । उनीहरु मध्ये ३० हजार ५ सय ५ लाभग्राहि अर्थात ८८ प्रतिशतले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता २६ हजार ५ सय ८ लाभग्राही र तेस्रो किस्ता लिने २१ हजार ६ सय ५३ लाभग्राही रहेको प्रमुख बिमल किशोर केपिले जानकारी दिनुभयो । हालसम्म भूकम्पले पुनर्निर्माण भएका कुल घरहरु मध्ये २० हजार ५ सय ५९ घरको निर्माण कार्य सम्पन्न भएको छ ।

गत आर्थिक वर्षसम्म मकवानपुर जिल्लामा १ हजार ६२ अर्थात ७६ प्रतिशत लाभग्राहीसँग प्रवलीकरणको सम्झौता भएको छ । हालसम्म प्रवलीकरणको लाभग्राही सुचिमा परेका र उनीहरुलाई पुनर्निर्माण तर्फको लाभग्राहीको सुचिमा २ सय ३६ लाभग्राहीलाई परिवर्तन गरिएको छ । चालु वर्षको भोली साउन १० गतेसम्म पनि प्रवलीकरणमा परेका लाभग्राहीहरुलाई पुनर्निर्माणको सुचिमा परिवर्तन गर्न म्याद दिइएको उहाँले बताउनुभयो । उनीहरुले भोली १० गतेसम्म कार्यालयमा आएर सूचना दिएमा पुनर्निर्माणको सुचीमा परिवर्तन गर्न सकिने प्रमुख केपिले बताउनुभयो । सुरुमा प्रवलीकरणको बारेमा नीति नै स्पष्ट नभएको र कसरी गर्ने भनेर प्राधिकरण नै स्पष्ट नभएको भन्दै प्रवलीकरणमा समस्या भएको बताउनुभयो । यस्तै प्रवलीकरणमा लाभग्राहीहरुले पनि रुची नदेखाएको भन्दै उहाँले प्रवलीकरण नगरे सम्झौता गरी लिएको किस्ताको रकम फिर्ता गर्नुपर्ने सरकारले भनेको स्मरण गराउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापनका तथा स्थानीय पूर्वाधार) का अनुसार प्राविधि पुग्नु अगावै भूकम्पले क्षति पुर्‍याएर निर्माण भैसकेका जिल्लाका ६ सय २२ घरलाई एकमुष्ठ तीन किस्ता वापतको रकम वितरण भएको छ । जोखिम वस्तीका पहिचान भएका २६ जना लाभग्राहीमध्ये २२ जनालाई जग्गा खरिद गरिदिएको छ भने ५ सय १८ जोेखिम भूमिहिन लाभग्राहीमध्ये सरकारले ६० जनालाई जग्गा खरिद गरिदिएको छ । त्यस्तै १० जनाको जग्गा खरिद प्रक्रियामा रहेको प्रमुख केपिले जानकारी दिनुभयो । नेपाल सरकारले एकल महिला, वृद्धावृद्ध, बालबालिका मात्र भएका, गरिब घरका लाभग्राहीलाई दिने ३ लाखमा ५० हजार थप गरेर दिने भएको छ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका, थाहा नगरपालिकामा सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) त्यस्ता लाभग्राहीहरुलाई सरकारले दिएको ३ लाखमा ५० हजार थप गरेर घर निर्माण गर्न प्राविधिक सहितको सहयोग गरिरहेको सिसिडिएका महेन्द्र जर्गामगरले बताउनुभयो ।

मकवानपुरमा ५० हजार थप नभएका त्यस्ता २९५ परिवारले स्थानीय सरकारले सिफारिस लिई आएमा उनीहरुलाई ५० हजार थप गरिदिने व्यवस्था गरेको प्रमुख केपिले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहले वा भूकम्प पुनर्निर्माण केन्द्रले नै त्यस्तो रकम व्यवस्था गरिदिएको छ भने केही गैससहरुले पनि यसरी ५० रकम थप गरी घर निर्माण गर्न सहयोग गरिरहेका छन् ।