हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख सचिव तोयम रायालाई बिदाई गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उहाँको बिदाई गर्नुभएको हो । बिदाई कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायाको कार्यकालको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । करिब ११ महिना प्रमुख सचिब भएर काम गर्दा सचिब रायाको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
प्रमुख सचिव रायाले आगामी दिनमा पनि प्रदेशसँग समन्वय गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशको प्रमुख सचिब भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रिहरुप्रति आभार व्यक्त गर्नुभयो । यसैगरी प्रदेशका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग रहेको भन्दै धन्यबाद दिनुभएको थियो । प्रमुख सचिब रायाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिबमा डा. मानबहादुर बिश्वकर्मा सरुवा भएर आउँदै हुनुहुन्छ ।
यसैबीच जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले पनि प्रमुख सचिव रायाको बिदाई गरेको छ । बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव रायालाई बिदाई गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी लगायतले उहाँलाई मायाको चिनो प्रदान गरेर आगामी कार्यकालको सफलताको शुभकामना सहित बिदाई गर्नुभएको हो ।