विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुँदै लेखक यशु श्रेष्ठ ।

हेटौँडा ः सानो छहारी किताबमाथि विद्यार्थी विमर्श भएको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा विमर्श भएको हो ।

किताबघरको तेस्रो शृङ्खलाअन्तर्गत बाल सहित्यकार यशु श्रेष्ठद्वारा लिखित सानो छहारी किताबमाथि विमर्श भएको हो । एक साताअगाडि ५ वटा विद्यालयका विद्यार्थीहरुलाई उक्त पुस्तक अध्ययनका लागि दिइएको थियो । कार्यक्रममा ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयका नेत्रप्रसाद उप्रेती, श्रमिक माध्यमिक विद्यालयकी प्रियंका गुप्ता, जीएस निकेतन माविका रुवस पराजुली, माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूलकी सारिका सुवेदी र चन्द्रोदय माध्यमिक विद्यालयकी शुभेच्छा तिमल्सिनाले समीक्षा गर्नुभएको हो ।

किताबघरका व्यवस्थापक छवि अनित्यले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । सहभागी समीक्षाकर्मीहरुले किताबमा वातावरणसँगको सम्बन्ध, पारिवारिक सम्बन्धको महत्व र ज्येष्ठ नागरिकहरुमा भएको ज्ञानको आवश्यक र महत्वको विषयमा उजागर गरिएकाले किताब अत्यन्त अर्थपूण रहेको बताएका थिए । किताबमा लोपोन्मुख शब्द प्रयोग भएकाले किताब अझ प्रभावकारी भएको बताइएको छ ।

कार्यक्रममा सानो छहारीका लेखक यशु श्रेष्ठ, ज्ञानोदय बालबाटिका आवासीय माविका प्रिन्सीपल श्यामकुमार बानियाँ, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाललगायतको उपस्थिति रहेको थियो ।