सेमिफाइनलमा प्रवेश गरेको हेटौंडा–१७ को भलिबल टिम ।

हेटौँडा ः हेटौँडा–१२, पदमपोखरीमा जारी वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । १२ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा समूह चरणको अन्तिम खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । समूह चरणको खेलमा हेटौंडा–११ ले जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको २ खेलमा हेटौंडा–१७ र हेटौंडा–१९ लाई हराउँदै समूह ‘क’बाट विजेता बन्दै हेटौंडा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको खेलहरुमा उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हेटौंडा–१७ ले हेटौंडा–१९ लाई हराउँदै हेटौंडा–११ सँग पराजित हुनुपरेको थियो । हेटौंडा–१२ समूह ‘ख’बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको ४ खेलमध्ये ३ जीत निकालेको हेटौंडा–१२ ले हेटौंडा–६, हेटौंडा–१७ र हेटौंडा–१५ लाई पराजित गरेको हो । यस्तै, समूह ‘ख’बाट २ जीत निकाल्दै हेटौंडा–६ सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१३ र हेटौंडा–१५ लाई पराजित गरेको हेटौंडा–६ ले हेटौंडा–१२ सँग पराजित हुनुपरेको थियो ।

प्रतियोगिता अन्तर्गत आज शनिबार सेमिफाइनल र फाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । पहिलो सेमिफाइनल खेलमा हेटौंडा–११ र हेटौंडा–६ बीच प्रतितस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा–१७ र हेटौंडा–१२ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ७ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रतियोगिताका संयोजक मनोज लामा स्याङ्तानले बताउनुभयो । प्रतियोगिताका लागि अन्य निकायहरुबाट पनि सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार र उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम पुरस्कार राशि हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गर्ने भएको छ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको छ ।