हेटौंडाः बारा जिल्लाको प्रसौनी गाउँपालिकामा आगो लागेर एकजना महिलाको मृत्य भएको छ । मृत्यु हुनेमा बाराको प्रसौनी गाउँपालिका–७, बञ्जरियाकी ७५ वर्षीया रजिया साह कानु छिन् ।
आइतबार बिहान आफ्नो घर अगाडि परालको घुरमा आगो ताप्दा कपडाबाट आगो सल्किएर घाइते भएकी कानुलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । घाइते कानुको दुबै हात, खुट्टा र टाउको जलेर मध्यम अवस्थामा रहेको भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी चौकी गढीबाट प्रहरी सहायक निरीक्षक मन्सुद राउतको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
कलैया अस्पतालबाट विहान करिब ११ बजे थप उपचारका लागि नारायणी अस्पताल बीरगञ्ज रिफर गरिएको थियो । नारायणी अस्पतालले साँझ साढे ५ बजे घाइते कानुलाई थप उपचारका लागि एनएमसी हस्पिटल बीरगञ्ज पठायो । उक्त अस्पतामा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।