हेटौंडा उपमहानगरपालिका ।

हैटौंडाः कृषि क्षेत्रमा बाहिरीे उत्पादनका कारण लगानी गर्न किसानलाई चुनौती भएको छ । हेटौंडा उपमहानगरपालिकाका कृषि अधिकृत प्रदीप रेग्मीले बाहिरका कृषकको उत्पादन लागतभन्दा हेटौंडाका कृषकको उत्पादन लागत बढी देखिएकाले कृषिमा लगानी गर्न चुनौती देखिएको बताउनुभएको हो ।

उपमहानगपालिकाका कृषकको लगानी बढी भएकाले मौसमी तरकारीमा प्रतिस्पर्धा गर्न कठिनाई हुँदा कृषकले ठूलो क्षेति व्यहोर्नु परेको उहाँले जानकारी दिनुभयो । अधिकृत रेग्मीका अनुसार मौसमी तरकारीमा प्रतिस्पर्धा बढी हुँदा स्थानीय कृषकले लागत मूल्य पनि पाउन नसकेको उहाँको भनाइ छ । यस्तो अवस्थाका कारण कृषि क्षेत्रमा लगानी, बजारीकरण, भण्डारण, भौतिक पूर्वाधार विकासका क्षेत्रमा नैराश्यता दखा परेको कृषि अधिकृत रेग्मीले बताउनुभयो ।

दुई हप्ता अगाडि हेटौंडा उपमहानगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स सञ्चालनका लागि कर्मचारी आवश्यक पर्ने भएकाले कृषक समूहलाई जिम्मा दिएको उहाँले बताउनुभयो । कृषि एम्बुलेन्समा मासिक लागतको विवरण आएपछि पालिकास्तरीय एम्बुलेन्स समितिले भाडा दर निर्धारण रेग्मीले जानकारी दिनुभयो ।

बागमती प्रदेशको कृषि मन्त्रालयले वडा तोकेर प्रत्येक वडामा फरक–फरक शीर्षकमा बजेट विनियोजन गरेको भए पनि कार्यबिधि एकमुष्ट हुँदा कार्यान्वयनमा समस्या आएको उहाँको भनाइ छ । प्रदेश सरकारले सिंचाई, शीतभण्डार आदि भौतिक पूर्वाधार निर्माण नगरी कृषक अनुदान दिँदा कृषि क्षेत्रमा दीर्घकालीन विकास हुन नसकेको रेग्मीले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकारको सझेदारीमा निर्माणाधीन कृषि थोक बजारको भवनमा गरिबी निवारण मन्त्रालय राखिएको छ । प्रदेश सरकारले सो भवन हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नगर्दा कृषि क्षेत्रमा प्रत्यक्ष असर परेको कृषि अधिकृत रेग्मीले बताउनुभयो ।