हेटौँडा ः चितवन जिल्लाको माडी नगरपालिका–१, ध्रुवचोकमा गैँडाको आक्रमणबाट घाइते भएका ५५ वर्षीय शिवराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर–५, विकासचोकका भण्डारीलाई गत बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा बा प्र ०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडीतर्फ जाँदै गर्दा जंगली गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि भण्डारीलाई चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा भण्डारीको आज बुधबार बिहान ६ बजेर २० मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।