हेटौँडा ः मकवानपुरमा मंगलबार सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । दुई छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा हेटौँडा–४, भैरवरोडबाट भित्री सडकखण्डमा विद्युत प्राधिकरणको केन्द्रीय वर्कसप कार्यालयबाट शान्तिनगरतर्फ जाँदै गरेको प्र २–०३–००१ प ३०७२ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६१ प १७३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाइते भएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार हेटौँडा–८, मिलनचोककी १९ वर्षीया सविता दंगाल, स्कुटर चालक हेटौँडा–५, शान्तिनगरकी १९ वर्षीया जेनि जंग पाख्रिन र स्कुटरको पछाडी सवार ३६ वर्षीया जानुका लामा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ । मोटरसाइकल चालक हेटौँडा–१५ का १९ वर्षीय रोहित दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, बस्तिपुरमा लेवटबाट नेवारपानीतर्फ जाँदै गरेको ना १६ प ८५६ नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७५ वर्षीय कृष्ण बहादुर थापा मध्यम घाइते भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक मनहरी गाउँपालिका–८ खरङ्गाका २९ वर्षीय मनोज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल चालक सापकोटाको स्वास्थ्य अवस्था बिग्रिएपश्चात घाईते पक्षसँग समन्वय गरी सापकोटालाई परिवारको जिम्मा लगाइएको छ ।