हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले आइतबार हिंसा पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत हिंसामा परेका ५ जना महिलालाई ५÷५ हजार रुपैयाँ नगद सहयोग गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षता तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी मन्त्री हरिप्रभा खड्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्कीले लैङ्गिक हिंसा न्यूनीकरण गर्न चुनौति रहेको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल लगायतको उपस्थिति थियोे ।