मत माग्दै घरदैलोमा पुगेका उम्मेदवार र तिनका समर्थकहरु ।

हेटौँडाः आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा जित निकाल्ने गरी दलहरुले कसरत गरिरहेका छन् । चुनावमा नतिजा निकाल्न दल तथा स्वतन्त्रबाट उम्मेवार बनेका उम्मेदवारहरु घरदैलोमा सक्रिय रहेका हुन् । एक वडा अध्यक्ष पदका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने चुनावी नतिजा अनुकुल बनाउन उनीहरु सक्रिय रहेका छन् । चुनावी नतिजा निकाल्न दलहरु अन्तिम कसरतमा नागरिकको घरघरमा पुग्ने चरणमा रहेका छन् ।

केही दल तथा स्वतन्त्रहरु पहिले चरणको घरदैलो कार्यक्रम सकेर दोस्रो चरणमा चोकचोकमा सभा सम्मेलनको आयोजना गरेका छन् भने केही आफ्नो प्रभाव बढाउन कमजोर क्षेत्रका नागरिकहरुसँग भेटघाटमा छन् । मंसिर १३ गते रातिबाट मौन अवधि सुरु हुनु पूर्व उम्मेदवारहरु नागरिकसँगको साक्षत्कारमा लागिरहेका छन् । दलबाट ६ र स्वतन्त्रबाट ३ जना गरी ९ उम्मेदवार चुनावी मैदानमा रहेका हेटौँडा–१२ मा विशेषगरी मुख्य दलहरु बीच नै प्रतिस्पर्धा हुने देख्छिन् । विशेषगरी हेटौँडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ । सोही अनुसार सो दलहरु आफ्ना महत्वपूर्ण नेताहरुलाई मैदानमा उतारेर सहानुभुति मत संकलनमा जोड गरिरहेका छन् ।

उक्त दलहरुको प्रतिष्ठाको विषय बनिरहेको उक्त स्थानमा आफ्ना हेभीवेट नेताहरु उतारेर चुनावी नतिजा निकाल्ने दाउमा उम्मेदवार रहेका छन् । सोही अनुसार उम्मेदवारहरु हेभीवेट नेताहरुको उपस्थितीमा दलबलसहित मत माग्न नागरिक माझ पुगिरहेका छन् । हेटौंडा–१२ माओवादीका लागि महत्वपूर्ण वडाको रुपमा रहेको छ । विगतमा जित्दै आएको उक्त वडामा आफ्नो पकड कायम राख्ने दाउमा माओवादी रहेको छ भने पहिलो जितको खोजिमा कांगेस, एमालेका उम्मेदवार रहेका छन् । माओवादी केन्द्रको उपस्थिति कार्यपालिकामा बलियो बनाउन पनि हेटौंडा–१२ मा जित्नै पर्ने दवावमा रहेको छ । पार्टीको खस्कँदो अवस्थालाई सन्तुलित गर्न पनि पकड क्षेत्रको रुपमा रहेको हेटौंडा–१२ मा जित निकाल्ने माओवादी केन्द्रको रणनीति रहेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार हेटौंडा–१२ मा पार्टीको संगठित मत ८०० र उम्मेदवार व्यक्तिगत मत ३०० गरी १ हजार १०० मत प्राप्त हुने अनुमान रहेको छ । निर्वाचन जित्न १ हजार ३०० मत आवश्यक रहेको उनको भनाई छ ।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा झिनो मतले पराजित भएको कांग्रेस यसपटक कुनैपनि अवस्थामा जित्ने दाउमा रहेको छ । विगतमा कांग्रेस कमजोर रहेको उक्त वडामा पछिल्लो केही वर्षदेखि अवस्था सुधार भएको नेताहरुको दावी रहेको छ । उक्त वडाको विकासमा कांग्रेस महत्वपूर्ण भूमिका खेलेको र उम्मेदवार स्वयम् नै निर्वाचनमा पराजित भएपनि नागरिकहरु माझ नै रहेर काम गरेकाले यस पटकको चुनावी नतिजा हात पर्ने नेताहरुको भनाई छ । कांग्रेस नेताहरुका अनुसार ६० प्रतिशत मतदान भएको खण्डमा कांग्रेसले निर्वाचन जित्न १ हजार ४०० मत प्राप्त गर्नुपर्ने अवस्था रहेको छ । विगतको निर्वाचनमा प्राप्त १ हजार ३०४ मतलाई होल्ड गर्न सकेको अवस्थामा चुनाव जित्न सहज रहेको उनीहरु बताउँछन् ।

तेस्रो वरियतामा रहँदै आएको एमाले पनि सो वडा जितेर हेटौँडालाई लालकिल्ला बनाउने रणनीतिमा रहेको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका र वडाहरु मध्ये बहुमत स्थानमा जित निकालेको एमाले आफ्नो उपस्थिति बलियो बनाउन हेटौंडा–१२ मा जित्ने रणनीति अनुसार अभियानमा रहेको एमाले नेताहरु बताउँछन् । एमालेका एक नेताका अनुसार पछिल्लो समय बढेका मतदातासहित १ हजार ६०० मत ल्याउन सके मात्र निर्वाचन जितिन्छ । एमालेले विगतमा संगठित मात्र प्राप्त गरेकाले थपिएका मतदाताबाट ३०० मत प्राप्त गर्नुपर्ने उहाँले बताए ।

साप्रदायिक मत क्यास गर्ने दलहरुको रणनीति
हेटौंडा–१२ विशेषतः तामाङ समुदायको बाहुल्यता भएको वडा हो । सो वडामा तामाङसहित ब्राह्मण, क्षेत्री, नेवार तथा दलित समुदायको बसोबास रहेको छ । विशेषगरी निर्वाचनमा साप्रदायिक मतले निर्णयक भूमिका निर्वाह गर्न सक्छ । मुख्य दलहरुले तामाङ समुदायबाट उम्मेदवार नबनाएका कारण सो मतले निर्वाचनको नतिजा प्रभावित बनाउन सक्ने आंकलन गरिएको छ । पार्टीको संगठित मत बाहेक तामाङ समुदायको मत क्यास गर्नुपर्न बाध्यात्मक परिस्थिती रहेको विश्लेषकहरु बताउँछन् । मुख्य दलहरुले आगामी निर्वाचनमा साप्रदायिक मतलाई अन्यत्र फ्लो हुन नदिने रणनीति अनुसार नेताहरु परिचालन गरिरहेका छन् ।

यता साना दलहरुबाट तामाङ समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । विशेषगरी मंगोल नेशनल अर्गनाईजेशन, एकीकृत समाजवादी, नेमकिपा, राप्रपा र रास्वपाका उम्मेदवारले साम्प्रदायिक मत प्राप्त गरेको खण्डमा निर्वाचनको नतिजामा आमुल परिवर्तन ल्याउन सक्ने विश्लेषकहरुको भनाई छ । उनीहरुको अनुसार हेटौंडा–१२ मा मुख्य दलहरुको प्रभाव बढिरहेको तथा विगतमा विकास निर्माण र सेवा प्रवाहका हिसावले साम्प्रदायिक मतको फ्लो हुन कठिन रहेको छ ।

चुनावी नतिजा बदल्न सक्ने रास्वपा, राप्रपा फ्याक्टर
मुख्य दलहरुको प्रतिष्ठाको विषय बनिरहेको हेटौंडा–१२ मा रास्वपा र राप्रपा फ्याक्टरले चुनावी नतिजा प्रभावित गर्न सक्ने अवस्था देखिन्छ । पछिल्लो समयमा रास्वपा सभापति रवि लामिछाने प्रतिको लगाव र राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंहका कारण चुनावी नतिजामा प्रभाव पर्न सक्ने अवस्था रहेको विश्लेषकहरुको भनाई छ ।

२०६४ अघिसम्म राप्रपाको उर्वरभूमिको रुपमा देखिएको तत्कालिन पदमपोखरी गाविसमा हाल सो दलको खासै प्रभाव देखिँदैन । यद्यपी पछिल्ला दशकमा सो वडामा राप्रपाको उपस्थिति कमजोर बन्दै गएको देखिन्छ । गत २०७९ को आम निर्वाचनमा सिंहलाई प्राप्त मतका धारमा हेटौँडा–१२ मा राप्रपा फ्याक्टर ठुला दलको चुनावी नतिजा बदल्न सक्ने विश्लेषण गरिएको छ । राप्रपा नेताहरुका अनुसार आगामी निर्वाचनमा राप्रपाले उक्त वडामा ७०० भन्दा बढी मत ल्याउने अनुमान गर्दै आएका छन् ।

यता ठुला दलको निर्वाचनको नतिजा बदल्ने अर्को फ्याक्टरको रुपमा रास्वपालाई लिइएको छ । उक्त दलबाट पनि उम्मेदवारी परेकाले मुख्य दलहरुको प्रतिस्पर्धामा चुनौति खडा गर्न सक्ने अनुमान गरिएको छ । रास्वपाका नेताहरुका अनुसार हेटौंडा–१२ मा निर्वाचन नतिजा सकारात्मक निकाल्न नसकेपनि प्रभाव भने गतिलो देखिने बताउँछन् । उनीहरुको विश्लेषण अनुसार सो वडामा रास्वपाका उम्मेदवारले ५०० भन्दा बढी मत ल्याउने आंकलन गरिएको छ ।

थपिए १ हजार ५८८ मतदाता
यही मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा–१२ मा १ हजार ५८८ मतदाता थपिएका छन् । गत २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा १ हजार ५८८ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले आगामी उपनिर्वाचनमा हेटौंडा–१२ को वडा अध्यक्ष पदका लागि ८ हजार ५३ मतदाता कायम गरिएको छ । जसमा पुरुष ३ हजार ८७८, महिला ४ हजार १७४ र अन्य १ जना मतदाता कायम गरिएको छ । गत २०७९ को स्थानीय हत निर्वाचनमा उक्त वडामा ६ हजार ४६५ मतदाता कायम गरिएको थियो ।

आयोगले हेटौंडा–१२ मा उपनिर्वाचनका लागि २ वटा मतदानस्थल कायम गरिएको छ भने ९ वटा मतदान केन्द्र कायम गरिएको छ । उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश अवानी मैनाली भट्राईलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । एक वडा अध्यक्ष पदका लागि मंसिंर १६ मा मतदान हुने निर्वाचन आयोगको कार्यक्रम तालिका रहेको छ ।

निर्वाचनका लागि एमालेले राजेश नगरकोटी, कांग्रेसका तर्फबाट अर्जुन प्रसाद तिवारी, माओवादी केन्द्रले रविन कुमार प्रधान, रास्वपाका आशा वीर बल, राप्रपाका प्रेम बहादुर भोलन, जसपाका छविलाल वाईबा, मंगाल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फुलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार रहेका छन् । वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार, र छत्रप्रकाश अधिकारी उम्मेदवार बनेका छन् । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।